एमाले सरकारमा जाँदैन, प्रतिपक्षको भूमिका निर्वाह गर्छः पौडेल

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १२ : ४८


रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ।

आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो।

“जनमतका हिसाबले एमाले ठूलो पार्टी हो तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ त्यसैले हामी सरकारमा जाँदैनौँ”, उहाँले भन्नुभयो।

सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै नेता पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताउनुभयो।

सरकार दल विशेषको नहुने जनाउँदै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधसभा सदस्यसमेत रहनुभएका पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने उल्लेख गर्नुभयो।

“जसको नेतृत्वमा सरकार बने पनि हामी रुपन्देहीको विकासलाइ रोकिन दिँदैनौँ, सुरु भएका योजना पूरा गरेर छोड्छौँ”, उहाँले भन्नुभयो। रासस


प्रतिक्रिया दिनुहोस्