कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स कम्युनिस्ट लिगको सदस्य हुनुहुन्थ्यो । सन् १८४७ मा कम्युनिस्ट लिगले माक्र्स र एंगेल्सलाई कम्युनिस्ट घोषणपत्रको मस्यौदा तयार पार्ने जिम्मा दियो । सन् १८४८ मा कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट घोषणपत्र जारी गर्नुभयो । त्यो कम्युनिस्ट घोषणापत्र नै सर्वहारावर्गको मुक्तिको सिद्धान्त बन्यो । जसलाई मार्क्सवाद भनिन्छ । अर्थात् प्रकृति, समाज, राज्यव्यवस्था, आदिका बारेमा कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले महान खोज र प्रयोगद्धारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई मार्क्सवाद भनिन्छ ।
मार्क्सवादले पुँजीपति वर्गको राज्यव्यवस्थालाई ध्वस्त पारि त्यो ठाउँमा सर्वहारा श्रमजीवि वर्गको राज्यव्यवस्था स्थापना गर्ने सही क्रान्तिकारी मार्गदर्शन गराउछ । मार्क्सवादका मौलिक विशेषताहरू हुन् द्वन्द्धात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मुल्यको सिद्धान्त, तल्लो वर्गको जनतामा राज्यको शक्तिनिहित अर्थात् सर्वहारावर्गको अधिनायकत्व आदि कुरा छन् र द्वन्द्धात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद मार्क्सवादका दार्शनिक आधार हुन् ।
मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त हो र सर्वहारावर्गको मुक्तिको सिद्धान्त उसको विश्वदृष्टिकोण हो । मार्क्सवादले जीवन र जगतलाई द्वन्द्धात्मक र ऐतिहासिक भौतिकवादी ढंगले हेर्ने, वुझने, व्याख्या गर्ने, बदल्ने र संसारको परिवर्तनको निम्ति बाटो देखाउने काम गर्ने भएकोले यो सर्वहारावर्गको मुक्तिको सिद्धान्त बन्न पुगेको हो । मार्क्सवादले प्रकृति, जीवन, समाज र चिन्तनका चालक वा आम नियमहरूको अध्ययन गराउने र संसारलाई जस्तो छ त्यस्तै यथार्थ रूपमा बुझ्ने वुझाउने एवं संसारलाई परिवर्तन गर्ने तरिकाहरूको बोध गराउने काम गर्दछ । मार्क्सवादी दर्शनका दुई भाग छन्, द्वन्द्धात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । मार्क्सवादी दर्शनको विकास मानव चिन्तनको उज्जवल तथा प्रगतिशील परम्परालाई आत्मसात गरेर भएको हो । यस विषयमा लेनिनले भन्नु भएको छ, "मार्क्सवादको जन्म विश्वसभ्यताको अनजान गल्तीबाट भएको होइन । मार्क्सवादी दर्शन अतित कालमा सर्वाधिक प्रगतिशील मतहरू, सिद्धान्तहरू र विचारधाराहरूको प्रत्यक्ष सिलसिला हो ।"
वर्गीय समाजमा प्रत्येक दर्शन वर्गदर्शनको रूपमा रहने कुरा मार्क्सवादी दर्शनको सम्वन्धमा पनि लागू हुन्छ । मार्क्सवादी दर्शन पनि एउटा वर्गदर्शन हो, तर यो अन्य दर्शनहरू झै अल्पसंख्यक शोषकहरूको दर्शन नभएर बहुसंख्यक सर्वहाराहरूको दर्शन हो । यसलाई स्टालिनले मार्क्सवादी लेनिनवादी पार्टीको विश्व दृष्टिकोणको रूपमा परिभाषित गर्नु भएको छ । मार्क्सवादी दर्शनको उत्पति ऐतिहासिक आवश्यकताले भएको हो । मार्क्सवादको जन्म भीषण संघर्षको बीचबाट भएको हो । विश्व राजनीतिक रंगमंचमा एक स्वाधिन शक्तिको रूपमा देखा परेको सर्वहारा वर्गका लागि एक साच्चिकै वैज्ञानिक दर्शनको खाँचो पर्न गयो । त्यो एक प्रकारको ऐतिहासिक आवश्यकता थियो, जसको परिपूति मार्क्सवादी दर्शन अर्थात द्वन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनले गर्यो । विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी बहन गरेको सर्वहारावर्गको प्रयासलाई मार्क्सवादी दर्शनले सैद्धान्तिक आधार र निर्देशन प्रदान गरेको छ । त्यसमा सर्वहारावर्गले संसारलाई ठिकसित बुझ्ने र त्यसलाई फेर्ने एक अचुक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिनले यसरी दर्शाउनु भएको छ, "मार्क्सको दर्शन एउटा परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानवजातिलाई र खासरूपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ ।" जसले जीवन र जगतलाई फेर्न चाहन्छ, जसले विद्यमान यथार्थतालाई फेरेर नयाँ यथार्थताको निर्माण गर्न चाहन्छ, त्यसले संसारलाई बुझ्नु पर्दछ । त्यसलाई फेर्ने तरिका जान्नु पर्दछ । यही सामर्थ्य मार्क्सवादी दर्शनले उसलाई दिन्छ । मानव समाजका सर्वहारा वर्ग सवैभन्दा ठूलो शक्तिशाली वर्ग हो, यस वर्गको लागि दर्शनको कति ठुलो महत्व रहेको हुन्छ भन्ने कुरालाई स्वयं कार्ल माक्र्सले यसरी व्याख्या गर्नु भएको छ, "जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।"
अब मार्क्सवादमा संशोधनवाद भनेको के हो भने मार्क्सवाद लेनिनवादको मूल प्रस्तावनाको अबैज्ञानिक संशोधन गर्ने एक अवसरवादी धारालाई संशोधनवाद भनिन्छ । मार्क्सवाद सर्वहारा क्रान्तिको बैज्ञानिक सिद्धान्त हो । यसका तीन संघटक अङ्ग छन् । ती हुन दर्शन, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद । मार्क्सवादी दर्शन द्वन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद हो । इतिहासको विकास प्रक्रियामा आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । बैज्ञानिक समाजवाद अन्तर्गत वर्ग, वर्गसङ्घर्ष, पार्टी, राज्यसत्ता, राज्यसत्ता निर्माणमा क्रान्तिकारी हिंसाको भुमिका, सर्वहारा वर्गको अधिनायकत्व र ती सवैको विलुप्तिको बैज्ञानिक अध्ययन गरिन्छ । सर्वहारा वर्गको यो बैज्ञानिक सिद्धान्त तमाम प्रकारका आदर्शवाद, अधिभूतवाद र कल्पनावादका विरुद्ध खडा छ । यो बैज्ञानिक सिद्धान्तसँग सामना गर्न सक्ने क्षमता आज कसैसँग पनि छैन । यो बैज्ञानिक र गतिशील सिद्धान्त भएकोले आज यो मार्क्सवाद, लेनिनवाद र माओ विचारधाराका रूपमा विकसित भएको छ ।
यहाँनेर बुझ्नै पर्ने कुरा के होे भने मार्क्सवादको संसोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो । मार्क्सवादको सैद्धान्तिक विजयका कारण आफनो पृथक अस्तित्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू मार्क्सवादको बैज्ञानिक धाराभित्र जब घुस्न पुग्छन त्यो बेला संशोधनवादको जन्म हुन्छ । मार्क्सवाद जन्मको लगत्तै प्रुरधो जस्ता अवसरवादीहरूको जन्म भएको हो । मार्क्सवादलाई पूरानो भइसकेको जडसुत्रवादी सिद्धान्त बताउदै यसको संशोधन र पुनर्विचारको प्रस्तावना पेस गर्ने पहिलो व्यक्ति वर्नस्टीन हुन् । वर्नस्टीन जर्मनको सामाजिक जनवादी क्रान्तिकारी आन्दोलनको संशोधनवादी प्रवक्ता हुन् । सन् १८९५ मा फ्रेडरिक एंगेल्सको देहवसान भएपछि लगत्तै सन् १८९६ मा वर्नस्टीनले मार्क्सवादलाई संशोधन गर्ने प्रस्ताव अघि सार्यो । र मार्क्सवादलाई संशोधन गर्नु पर्दछ भन्ने पहिलो व्यक्ति वर्नस्टीन नै हुन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपंथी, उग्रपंथी एवं मध्यपंथी रूपहरू विभिन्न कालखण्डमा देखापर्दै आएका छन् र यिनमा दक्षिणपंथी संशोधनवाद नै अधिक विकृतिपूर्ण एवं खतरनाक रही आएको छ । संशोधनवादका अनेक तत्व र प्रकार छन् । संशोधनवादले विस्तारै विस्तारै नजानिदो तरिकाले आफुलाई विकसित गरिरहेको हुन्छ । कुरा, भाषण र दस्तावेज क्रान्तिकारी भएपनि त्यसको व्यबहार क्रान्तिकारी हुँदैन । त्यो शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद र प्रतिक्रान्तिको बाटो हुँदै प्रतिक्रियावादको रूपमा समेत पतन हुन पुगेको देखिन्छ । यो संशोधनवादको अन्तर्राष्ट्रिय परिघटना हो । यसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । हरेक देशमा आफ्ना क्रान्तिका विशेषतासँगै संशोधनवादले पनि आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्दछ । सामाजिक, सैद्धान्तिक र ब्यबहारिक विशेषताहरूसहित संशोधनवादको जन्म हुने गर्दछ ।
ऐतिहासिक तथ्यहरूले के पुष्टि गरेका छन् भने संशोधनवादको सामाजिक श्रोत निम्नपुँजीवाद, पुँजीवाद र साम्राज्यवाद पनि हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ट सम्वन्ध रहदै आएको छ । साम्राज्यवादको जन्म इङल्याण्डबाट भएको थियो, जब साम्राज्यवाद अन्य देशहरूमा फैलदै गयो, त्यसको प्रभावको कारण ती देशहरूमा पनि संशोधनवाद फैलिन पुग्यो । जर्मनीको लासाल र लासालवादीहरूमा पनि अनेकौ अवसरवादी विकृतिहरू पैदा हुदै गएको कुरा बारे मार्क्स र एंगेल्सले उद्घाटित गर्नु भएको छ । सैद्धान्तिक रूपले हेर्दा संशोधनवादको वैचारिक श्रोत निम्नपुँजीवाद, पुँजीवाद र साम्राज्यवाद नै हो । संशोधनवादले मार्क्सवादका संघटक अंगको बारेमा दर्शन, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद तीनवटै संघटक अंगलाई संशोधित एवं विकृत पार्दै आउने काम गरेको छ । दर्शनका क्षेत्रमा काष्ठवाद, प्रत्यक्षवाद, अनुभाववाद, व्यवहारवाद, प्राधिकारवाद, भडुवा विकासवाद र नानाथरी थरिका सारसंग्रहवादलाई आत्मसात गर्दै आएको छ । ब्यबहारिक परिणाममा द्वन्द्धात्मक एंव ऐतिहासिक भौतिकवाद विरुद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोषण गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पुँजीवादी संकट तथा मुल्य सिद्धिान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु नियोजित अर्थतन्त्रका विरुद्ध अराजक स्वतस्फूर्ततावादी उत्पादक शक्तिको सिद्धान्त अंगाल्नु यसका मूलभूत सिद्धान्त हुन् । समाजवादको क्षेत्रमा यसले वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरुद्ध वर्गसमन्वय, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्वन गर्दछ र मजदुर आन्दोलन र किसान आन्दोलनलाई सुधारवादी, संसदवादी भासमा फसाउनु यसका मुल विशेषता हुन् ।
हामीले प्राप्त गरेको ज्ञान के हो भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहारा क्रान्तिको सिद्धान्तको विकास जसरी मार्क्सवाद, लेनिनवाद र माओ विचारधाराका तीन गुणात्मक चरणमा भएको छ त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद हुँदै प्रतिक्रियावादको रूपमा विकृत हुन पुगेको छ । सर्वहारा क्रान्तिको विकास वर्गदुश्मनहरू, उनीहरूको विचारधारा, तमाम अराजकतावादी तथा अवसरवादीहरू र संशोधनवादीहरूका विरुद्धको भीषण वर्गसंघर्ष, अन्तरसंघर्ष र दुइलाइनको संघर्षका बीचबाट निकै जटिल, संगीन र ओजपूर्ण रहेको छ । मार्क्सवाद इतिहास र समाज विज्ञानको महान खोज हो । वर्ग, वर्गसंघर्षद्वारा समाजवादको स्थापना, सर्वहारा अधिनायकत्वको विकास र साम्यवादको स्थापना त्यस खोजको केन्द्रीय कडी अर्थात सारतत्व हो । संशोधनवादीहरूले मार्क्सवादको त्यसै केन्द्रीय कडीमाथि प्रहार गर्ने गरेका छन् । संशोधनवादीहरु चाहे उग्रपन्थी होस् चाहे दक्षिणपन्थी, यीनिहरुले मार्क्सवादको भ्रष्टीकरण र प्रतिक्रियावादीको सेवा गरिरहेका हुन्छन् । उग्रवामपन्थी संशोधनवादको अन्तिम गन्तव्य पनि दक्षिणपन्थी संशोधनवाद नै हो । त्यसैले मार्क्स र एंगेल्सले ती सबै प्रकारका विरुद्ध लड्दै मार्क्सवादी सिद्धान्त, रणनीति तथा कार्यनीति र त्यसको संवाहक पार्टीलाई समेत स्थापित गर्नु भएको थियो । दोस्रो अन्तर्राष्ट्रिय कालमा वर्नस्टीनले तमाम काल्पनिक तथा अवसरवादी विचारहरूलाई समेटेर वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व र हिंसात्मक क्रान्तिको सिद्धान्तको विरुद्ध वर्गसमन्वय, वालिगमताधिकार, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्तको वकालत गर्दै शास्त्रीय संशोधनवादको जग बसालेको थियो । यस अवधिमा अर्थवाद, मेन्सिविकवाद, विसर्जनवाद, काउत्स्कीवाद लगायतका संशोधनवादका विविध रूपहरू प्रकट भएका थिए । गद्धार काउत्स्कीले वर्नस्टीनको सिद्धान्तलाई अनुसरण गर्दै सर्वहारा अधिनायकत्व र वल प्रयोगको सिद्धान्तका विरुद्ध शुद्ध जनवाद को पक्षपोषण गरेको थियो र उसले साम्राज्यवादलाई प्रगतिशील समेत बताएको थियो ।
आधुनिक संशोधनवाको सुत्रपात मुख्यत ख्रुरश्चोभबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अबलम्वन गर्दै तथा वर्गसंघर्ष सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना गर्यो । ख्रुरश्चोभदेखि मिखाइल गोर्भाचोभसम्म आउँदा आधुनिक संशोधनवाद सामाजिक फाँसिवादका रूपमा गिर्न पुग्यो ।
सन् १९६० को दशकमा कमरेड माओले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गंभीर अध्ययन र अर्कोतिर स्वयं चिनबाटै जटिल बन्दै गइरहेको पुँजीवादको पुनर्स्थापना रोक्नका लागि सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरि महान १० वर्षे सांस्कृतिक क्रान्ति संचालन गर्नु भयो । माओको नेतृत्वको चिनियाँ नौलो जनवादी क्रान्तिले अर्धसामन्ती तथा अर्ध औपनिवेशिक मुलुकमा राष्ट्रिय अर्थतन्त्रको विकास गरेर समाजवाद निर्माणका निम्ति बलियो आधार तयार पार्नुपर्ने महान माओ विचारधाराको ब्यबहारिक प्रयोग भयो । चीनको नयाँ जनवादी क्रान्तिदेखि आजसम्म आइपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रमा माक्र्सवाद लेनिनवादको तेस्रो गुणात्मक शिखरका रूपमा माओ विचारधाराको विकास भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन यसरी मार्क्सवाद र संशोधनवादको भीषण द्धन्द्धको बीचबाट गुज्रिदै आउदा क्रान्ति र प्रतिक्रान्तिका जीत र हारका अनेकौ घटनाहरू घटिसकेका छन् । सारा संशोधनवादीहरूले क्रान्तिकारीहरूलाई उग्रवादी, आतंकवादी, वामपन्थी संकृणतावादी, जडसुत्रवादी आदि भनेर बदनाम मात्र गरेका छैनन् कि भीषण भौतिक हमलासम्म गर्न पुगेका छन् । वास्तवमा संशोधनवादीहरू वर्नस्टीन, काउत्स्की र ख्रुरश्चोभ भन्दा पनि अझै तल गिरेर ठाडै संसदीय प्रजातन्त्र, पुँजीवादी संसद र प्रतिक्रियावादीहरु सँग पनि हातेमालो गरेर श्रमजीवी जनतालाई ढाट्ने, लुट्ने र भ्रमित बनाउनेतर्फको आदर्श मान्दै युरो कम्युनिज्मको पतित सिद्धान्तसम्म अंगाल्न पुगेका छन् र आज संशोधनवाद नाङ्गो दलाल पुँजीवादमा समेत गिर्ने क्रम बढिरहेको छ ।
हामी क्रान्तिकारीहरूले संचालन गर्दै आएको वर्गसंघर्ष, अन्तरसंघर्ष, दुइलाइन संघर्ष, अध्ययन र अनुभवबाट के निष्कर्षमा पुग्न सकिन्छ भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्रको मार्क्सवाद र संशोधनवादबीचको यो भीषण लडाइँ आज आएर एकातिर मार्क्सवाद लेनिनवाद माओ विचारधारा र अर्कोतिर शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद प्रतिक्रियावाद बीचको लडाइँमा अभिव्यक्त हुन पुगेको छ । यो एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्रको मार्क्सवाद र संशोधनवाद बीचको लामो ऐतिहासिक लडाइँको समृद्ध अनुभव एवं शिक्षाको सार हो भने अर्कोतिर त्यस लडाइँको मार्क्सवाद र प्रतिक्रियावाद बीचको लडाइँमा रूपान्तरणको द्योतक पनि हो । यसरी आज मार्क्सवाद र संशोधनवाद बीचको भीषण संघर्षमा बदलिन पुगेको छ । अब यस कुरालाई नेपालको सन्दर्भमा भन्नुपर्दा संशोधनवादको मुख्य नेतृत्व सत्तासीन नेकपाले गरिरहेको छ । उसले यही दलाल पुँजीवादी व्यवस्था अनुरुपको व्यबहार अनुसरण गर्दै नेपाली जनतालाई समाजवाद स्थापना गर्ने झुठो सपना बाडिरहेको छ । यो शक्तिले आफुलाई कम्युनिस्ट भएको भन्ने प्रचारप्रसार गरेर जनतालाई भ्रमित बनाउन सफल भएको छ । यसले नेपालमा अब कुनै पनि प्रकारको राजनीतिक परिवर्तनको आवश्यकता नभएको कुरा प्रचारप्रसार गरिरहेको र केवल आर्थिक क्रान्ति वा परिवर्तनको खाँचो मात्रै रहेको कुरा औल्याउँदै आएको छ । मौजुद अवस्थामा नै कथित आर्थिक विकास गरेर समाजवादको निर्माण गर्ने नेकपाको झुठो राजनीति विरुद्धको लडाइँमा हामी रुपान्तरण हुनु नै नेपालको सन्दर्भमा संशोधनवाद विरुद्धको लडाइलाई उँचो बनाउनु हो ।
नेपालको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा संशोधनवाद विरुद्धको संघर्षमा सत्तासीन नेकपाको यस रवैयाको भण्डाफोर गरेर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको विकास गर्नुपर्ने राष्ट्रिय चुनौती बनेको छ । यो चुनौती विरुद्ध मार्क्सवाद लेनिनवाद माओ विचारधाराको प्रतिनिधित्व गर्ने क्रान्तिकारी धाराको रूपमा कम्युनिस्ट शक्ति पनि अभिव्यक्त भइरहेको छ । त्यसको प्रतिनिधित्व आज नेकपा ( मसाल ) ले गरिरहेको छ । यसले अन्तर्राष्ट्रिय आन्दोलनको क्रान्तिकारी परम्परा र त्यसको शिक्षाको सारलाई आत्सात् गर्दै मार्क्सवाद, लेनिनवाद र माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्दै तथा तमाम प्रकारका दक्षिणपंथी संशोधनवाद र सुधारवादका विरुद्ध संघर्ष गर्दै नेपालमा नौलो जनवादी क्रान्ति गर्ने न्युनतम र समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने अधिकतम उदेश्य लिएको छ । अहिलेसम्मका जनताले प्राप्त गरेका उपलब्धिको सुरक्षा गर्दै थप अधिकार प्राप्ति र मुलुकमा आमूल परिवर्तनको आधार निर्माणको निम्ति दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवाद विरुद्ध नेपाली उत्पीडित जनतालाई प्रशिक्षीत गर्दै गोलबन्द गर्ने अभिभारा नेकपा ( मसाल ) को काँधमा आएको छ । त्यसैले अहिले हामी आफ्नो आन्तरिक समस्यामा मात्रै रुमलिले बेला होइन । नेपाली जनताले वैकल्पिक शक्तिको खोजी गरिरहेका छन् । त्यो वैकल्पिक शक्ति हामी हौं भनेर जनतालाई विश्वास दिलाउनु पर्ने आवश्यकता छ । त्यसको लागि हामी बीच भएको निम्न पुँजीवादी चिन्तनमा सुधार गर्नुपर्छ । संसद र स्थानीय तहलाई सत्ता भर्याङ र ब्यक्तिगत लाभको भाडो बनाउनु हुँदैन । त्यसलाई समेत आन्दोलन र संघर्षको रूपमा उपयोग गर्नुपर्ने आवश्यकता छ । नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिको कार्यदिशामा सत्तासीन नेकपाले जुन भ्रम छरेको छ त्यस विरुद्ध जनतालाई सचेत र संगठित गर्नुपर्ने जरुरी छ । होइन भने नेपालको कम्युनिस्ट आन्दोलन क्रान्ति पथलाई दक्षिणपन्थी संशोधनवादले अनिश्चितताको गहिरो भुमरीमा विलीन गराउने संभावना रहेको छ । त्यस्तो हुन नदिन भीषण संघर्ष गर्नु आज क्रान्तिकारीहरुको मुख्य कर्तव्य र जिम्मेवारी हुन आएको छ ।
(समाप्त )