भोलि बुधवार, घोराही महोत्सवमा ज्योति मगर

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ५ : १३


दाङ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० गतेदेखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को छौठौं दिन भोलि बुधवार चर्चित गायिका तथा मोडल ज्योति मगरको प्रस्तुति रहने भएको छ ।

महोत्सवमा ज्योतिले नृत्यसहित लोकदोहोरी र अन्य थुप्रै प्रस्तुति देखाउने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । बुधवार ज्योतिसहित चन्द्र शर्मा, विजय पुन, कमल नारायणी डान्स गु्रप, गोमा रिजाल, पूजा नेपाली लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ । बुधवार लोकदोहोरी प्रतियोगितासहित अन्य थुप्रै स्थानीय कलाकारहरुले प्रस्तुति देखाउने छन् ।

महोत्सवमा सोमवारको तुलनामा मंगलवार दर्शकहरुको घुइँचो निकै बढेको थियो । महोत्सवमा आज राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मा, कला लम्साल, रमेशराज भट्टराई, रुपा घर्ती मगर, विजय पुनका साथमा स्थानीय थुप्रै कलाकारहरुले प्रस्तुति देखाएका थिए । त्यसैगरी जनवादी गायक झंकार बुढा मगरले समेत आफ्नो प्रस्तुति देखाएका थिए ।

महोत्सवमा चन्द्र शर्मा, रमेशराज भट्टराई, देवकला बस्नेत र रुपा घर्ती मगरको दोहोरीमा घम्साघम्सी परेको थियो । उनीहरुले गीत गाइरहँदा दर्शकहरु छमछमी नाचेका थिए । महोत्सवमा पहिलो सेसनमा प्रकाश पुनले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

युवा पुस्ताका लोकप्रिय गायक रमेशराज भट्ट्राईले ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ बोलको गीत प्रस्तुत गर्दा दर्शकहरुको हुटिङ निकै बढेको थियो । 
 


प्रतिक्रिया दिनुहोस्