गुरुङको संसद्मा तेस्रो यात्रा

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ४ : २४


प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा–२ मा विजयी हुनुभएका धनराज गुरुङ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति हुनुहुन्छ। विसं २०७८ मा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा उहाँ विजयी हुनुभएको थियो।

विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित हुनुभएकी एमाले नेत्री पद्माकुमारी अर्याललाई सोही क्षेत्रबाट यसपटक पराजित गर्ने उम्मेदवार गुरुङ हुनुहुन्छ । उहाँले पाँच हजार छ सय २७ मतले एमाले केन्द्रीय सचिव अर्याललाई पराजित गर्नुभएको हो । गुरुङले ३१ हजार चार सय ६६ मत ल्याई विजयी हुँदा अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गर्नुभयो ।

विसं २०२२ मा स्याङ्जाको साविक अर्जुनचौपारी गाविस–७ तथा हालको अर्जुनचौपारी गाउँपालिका–२ मा पिता पूर्णबहादुर गुरुङ र माता पियारी गुरुङका कान्छो सुपुत्रका रुपमा उहाँको जन्म भएको हो । राजनीतिक यात्रामा नेपाल विद्यार्थी सङ्घमा आबद्धता जनाउनुभएका गुरुङ १४ वर्षमा २०३६ सालको आन्दोलनमा सहभागी हुनुभयो । विसं २०३८ मा १६ वर्षमा हालको भिरकोट–२ स्थित दहथुम माध्यमिक विद्यालयको नेविसङ्घ एकाइ सभापति हुनुभयो ।

विसं २०४० मा नेविसङ्घ स्याङ्जा जिल्ला सचिव भई काम गर्नुभएका गुरुङ विसं २०४३ मा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वत्रन्त्र विद्यर्थी युनियनमा नेविसङ्घकातर्फबाट प्रतिस्पर्धामा उत्रनुभएको थियो । विसं २०४८ मा कांग्रेस महाधिवेशन प्रतिनिधिकारुपमा निर्वाचित हुनुभएका गुरुङ सोही वर्ष नै नेविसङ्घको केन्द्रीय उपसभापतिमा निर्वाचित हुनुभयो । विसं २०५३ मा नेविसङ्घको सभापति बन्नुभएका गुरुङ एक वर्षपछि २०५४ सालमा नेपाल तरुण दलको महासचिवमा निर्वाचित भई काम गर्नुभएको थियो।

गुरुङ २०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सांसद बन्नुभएको थियो । यसपटक प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट विजयी हुनुभएका नेता गुरुङ तेस्रो पटक प्रतिनिधिसभामा प्रवेश गर्नुभएको हो। पार्टीको १२औँ र १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएका उहाँ १४औँ महाधिवेशनबाट भने केन्द्रीय उपसभापतिमा विजयी हुनुभयो।

गुरुङले भ्रष्टाचार र सुशासनका विरुद्धको आफ्नो जीत भएको बताउनुभएको छ। यहाँका सर्वसाधारणले आफूले अगाडि सारेको भ्रष्टाचार र सुशासनका एजेण्डामा सहमति जनाउँदै आफ्नो मत जाहेर गरेकाले अब संसद्मा यही विषयमा आवाज उठाउने उहाँले प्रतिबद्धता जनाउनुभयो।

“विकासको अवरोधक भ्रष्टाचार हुनु र सुशासन कायम हुन नसक्नु हो”, उहाँले भन्नुभयो, “मेरो जित भनेकै भ्रष्टाचारविरुद्ध आवाज उठाउने र सुशासन कायम गर्नका लागि हो, मैले जुन एजेण्डा जनतामाझ राखेको थिएँ त्यसैमा निरन्तर लाग्नेछु।” निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिएबमोजिमका विकास निर्माणका काममा पनि निरन्तर लाग्ने र पूरा गरेरै छाड्ने दाबी उहाँले गर्नुभयो। रासस


प्रतिक्रिया दिनुहोस्