विश्वकप फुटबल: फ्रान्स र इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : ४०


इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३-० ले जित्यो।

इङ्ग्ल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ।

विश्वकप फुटबलः फ्रान्स क्वाटरफाइनलमा

फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ।

कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित ग¥यो । जीतसँगै साविक विजेता फ्रान्स क्वाटरफाइनलमा पुग्ने तेस्रो टोली बन्यो।

यसअघि हिजो सम्पन्न खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना क्वाटरफाइनलमा पुगिसकेका छन्। नेदरल्यान्डसले अमेरिकालाई ३-१ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो भने अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोलअन्तरले हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो ।

फ्रान्सले खेलको पहिलो हाफमा एक गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो । खेलको पहिलो हाफमा फ्रान्सका स्ट्राइकर ओलिभिएर जिरुडले गोल गर्दै पहिलो अग्रता लिए । उनले खेलको पहिलो हाफको ४४औँ मिनेटमा किलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको ७४औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सको जीत पक्का भएको थियो।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टीमार्फत् एक सानत्वना गोल गर्यो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले बचाए पनि रेफ्रीले पुनः प्रहार गर्न निर्णय दिए । प्रहार गर्नुअघि गोलरक्षक लोरिस गोललाइनबाट बाहिर आएकाले पुनः प्रहार गर्न पाएका थिए । दोस्रो प्रयासमा भने उनले गोल गर्न सफल भए।

विश्वकपमा फ्रान्स समूह डिको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो भने पोल्यान्ड समूह सिको उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्