अहिले जताततै कोरोना भाइरसको आतंक नै सिर्जना भएको छ । चीनबाट देखा परेको यो कोरोना भाइरस अरु देशमा पनि फैलिरहेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार हालसम्म मृतकको संख्या १ सय नाघिसकेको छ । सुरुमा कोरोना भाइरसको संक्रमणबाट एक अर्कामा नसर्ने बताइए पनि अहिले यो सर्ने कुरा पुष्टि भइसकेको छ । उसो त नेपालमै पनि कोरोना भाइरसको बिरामी भेटिएको समाचारहरु आइरहेका छन् ।
यसबाट कसरी बच्ने र भाइरस सर्न नदिन के गर्ने भन्नेबारे सबैले पूर्वसर्तकता अपनाउनुपर्ने देखिन्छ ।
चिकित्सकहरुले हाछ्युँ गर्दा वा खोक्दा निस्क्ने थुक र र्यालको छिटाबाट कोरोना भाइरस संक्रमण हुनसक्ने जानकारी बताएका छन्। कोरोना भाइरसबाट बच्न रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने, त्यसैगरी सरसफाइमा ध्यान दिने, मास्क लाउने भनेर चिकित्सकले सुझाव दिएका छन्।
के मास्क प्रयोग गरेर यस्तो भाइरस सर्नबाट बच्न सकिन्छ ? मास्कको प्रयोग गर्ने तर कस्तो खालको ? भाइरस मास्कले कत्तिको रोक्न सक्छ त ?
आमरुपमा प्रयोग हुने सर्जिकल मास्क (पेपर मास्क) तथा एननाइनफाइभ मास्कले कत्तिको भाइरस छेक्न सक्छन् ?
अहिले धेरै जनाले सर्जिकल मास्कको प्रयोग गर्ने गरेको देखिन्छ। यो मास्क प्रदुषण रोक्नलाई बढी लगाइन्छ।
टोरोन्टो युनिभर्सिटी हेल्थ नेटवर्कका अनुसार सर्जिकल मास्कले थोरैमात्र भाइरसबाट बचाउन सक्छ। यसले मुख तथा अनुहार छोपे पनि केही निश्चित कणहरु भने रोक्न सक्दैन। फ्लु लागेको वा खोकी लागेको छ भने यसको प्रयोग ठीकै हुने चिकित्सकहरु बताउँछन्।
एन नाइनफाइभ मास्कले काम गर्छ?
यो मास्कले भने भाइरसबाट अलि बढी जोगाउन सक्ने चिकित्सकहरुको भनाई छ। किनकि यो मुखमा मज्जाले फिट हुन्छ। यो मास्कको नाम नाइनफाइभ किन राखिएको भन्ने कुरा पनि रोचक छ। यसले ९५ प्रतिशतभन्दा बढी कणहरु जुन ०.३ माइक्रोनस भन्दा कम हुन्छन् त्यसलाई फिल्टर गर्न सक्छ। तर यो मास्क लगाउन पनि जान्नुपर्छ। र, यो छिटो छिटो परिवर्तन गर्नुपर्छ।
विज्ञहरुका अनुसार अहिलेको अवस्थामा सबैले यो मास्क लगाइहाल्न पर्ने जरुरी भने छैन। जो मानिस संक्रमित व्यक्तिसँग सिधा सम्पर्कमा छन् उनीहरुलाई यो मास्क जरुरी हुन्छ।
१८ औँ शताब्दीमा पहिलोपटक सर्जिकल मास्क अस्पतालमा प्रयोग गरिएको थियो। त्यो सर्वसाधारणको प्रयोगमा भने थिएन। तर जब १९१९ मा स्पेनिस फ्लुको महामारी देखियो त्यतिबेला यो मास्कको अत्यधिक प्रयोग भयो।
सेन्ट युनिभर्सिटी अफ लन्डनका डा. डेविड क्यारिङ्टन भन्छन्, ‘नियमित रुपमा प्रयोग हुने सर्जिकल मास्कले हावामा हुने भाइरस र ब्याक्टेरियाबाट सुरक्षित राख्दैन। किनकि त्यो मास्क लुज हुन्छ र हावा फिल्टर पनि गर्न सक्दैन। तर यसले खोकी र हाच्छयुँ गर्दा केही हदसम्म बचाउँछ। मास्क फुकालेपछि पनि राम्ररी हात धुनुपर्छ। मास्क लगाउँदा मुख र नाक मजाले छोपिनुपर्छ। मास्क लुज भयो भने मास्कले किटाणु तथा अरु कणहरुबाट बचाउँदैन।ु
न्यु साउथ वेल्समा सन् २०१६ मा गरिएको एक अध्ययनअनुसार आधा घण्टामा मानिसहरुले २३ चोटी आफ्नो हात अनुहारमा घरीघरी लग्थे। यो बानी राम्रो होइन।
क्वीन्स युनिभर्सिटीमा कार्यरत डा. कोनर ब्यामफोर्ड मास्कले भन्दा पनि आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिए धेरै लाभदायी हुने बताउँछन्। उनी भन्छन्, ‘हाच्छ्युँ गर्दा मुख छोप्ने, हात धुने र हात नधोइ मुखमा हात नपुर्याउने बानी गरियो भने पनि श्वासप्रश्वासबाट फैलिने थुप्रै भाइरसबाट बच्ने सम्भावना रहन्छ।’
नेशनल हेल्थ सर्भिस लन्डनका अनुसार विभिन्न भाइरसबाट बच्न नियमित रुपमा साबुनपानीले हात धुने, हातले आफ्नो आँखा र नाक नचलाउने तथा स्वस्थ्य जीवनशैली अपनाउने गर्नुपर्दछ ।