अबको प्रधानमन्त्री देउवा नै, राष्ट्रपति माओवादी र सभामुख हाम्रो भागमाः मन्त्री चौधरी

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ०८


सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभएको छ।

उहाँले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने बताउनुभयो । राष्ट्रपति माओवादी केन्द्र र सभामुख आफ्नो पार्टीको भागमा पर्नेगरि छलफल भइरहेको उहाँले बताउनुभयो

“सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ, पाँचदलीय गठबन्धनको नै सरकार बन्छ । सरकारको नेतृत्व र मन्त्रीहरू पनि सल्लाहमै टुङ्गो लगाउँछौँ”, उहाँले भन्नुभयो ।

आज यहाँ एक कार्यक्रममा उहाँले अब पाँच वर्षसम्म यही गठबन्धनको सरकार बन्ने जिकिर गर्नुभयो । अब गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भएकाले अर्को गठबन्धन नबन्ने उहाँको दाबी छ । मन्त्री चौधरीले कांग्रेसले सरकारको नेतृत्व गर्ने पनि बताउनुभयो । अब बन्ने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी गर्दै मन्त्री चौधरीले भन्नुभयो, “अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो । त्योबाहेक अरु खालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन ।”

मन्त्री चौधरीले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने पनि बताउनुभयो। आफ्नो दलले चुनावमा हासिल गरेको सिट सङ्ख्या अपेक्षित नभए पनि तुलनात्मकरूपमा सन्तोषजनक रहेको उहाँको भनाइ छ ।

उहाँले काठमाडौँ उपत्यकाभित्र देखिएको सुकुम्बासी समस्या पनि छिट्टै हल गरिने बताउँदै आगामी ३५ दिनभित्र काठमाडौँको सुकुम्बासी समस्या हल गरिने जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस्