नयाँ पार्टी र अनुहार नेपाललाई खेल मैदान बनाउने षड्यन्त्र मात्रैः विप्लव

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ५ : २६


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सबै कम्युनिष्टहरूले आ(आफ्नो कमजोरी सच्याएर एक हुने बेला आएको बताएका छन्।

महासचिव विप्लवले एक भिडियो सन्देश जारी गर्दै झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रम मात्रै रहेको बताएका छन्।

पुजीवादीहरुको षड्यन्त्रलाई चक्नाचुर पार्दै नयाँ आधारमा सँगठित हुने बेला आएको उनको भनाई छ।

विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै कम्युनिष्ट समर्थक नागरिकहरु, जनसमुदायहरू, देशभक्त नागरिकहरू,’ उनले भनेका छन्। कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजिएको उनको आरोप छ।

‘नेपाललाई पश्चिम बंगाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिष्टलाई घिसारेर अन्तत कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिष्ट समर्थक जनताहरूलाई परिवर्तन र क्रान्तिको चेतनाबाट विसर्जित गर्ने षडयन्त्रहरू भएका छन् । हामी सचेत हुनुपर्छ,’ उनले थपे ।

संसदीय व्यवस्थामा नयाँ पार्टी र नयाँ अनुहारको नारा लगाउनु जनतालाई भ्रमित पार्ने काम मात्रै भएको उनको टिप्पणी छ । नयाँ पार्टी र अनुहार नेपाललाई खेल मैदान बनाउने षड्यन्त्र मात्रै भएको उनले बताए।

‘आखिर विष विष नै हो नयाँ बोटल भएपनि पुरानो बोटल भएपनि विषले कहिल्यै अमृत दिन सक्दैन,’ उनले भनेका छन्।


प्रतिक्रिया दिनुहोस्