चितवनका मतदाताको फरक रोजाइ

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : ०९


देशका ७६ जिल्लाका मानिसको बसोबास रहेको चितवनका मतदातालाई पुराना दलहरूले आश्वस्त पार्न नसक्दा नयाँ उम्मेदवार निर्वाचित भएका छन्। पुराना दलहरूलाई सच्चिने अवसर दिँदै दल नछोडे पनि मतदान भने नयाँ दललाई दिएका हुन् । यति हुँदाहुँदै पनि जिल्लाका तीन सङ्घीय र छ प्रदेशमा छ दलको प्रतिनिधित्व हुने गरी निर्वाचित भएका छन् ।

चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, १(१) मा नेकपा एमाले का जगन्नाथ थपलिया, १(२) मा नेकपा एकीकृत समाजवादी का कृष्णप्रसाद खनाल, क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, २(१) मा एमालेका कृष्णप्रसाद सिलवाल, २(२) मा नेपाली कांग्रेसका उत्तम जोशी निर्वाचित हुनुभएको छ । त्यस्तै, क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डे, ३(१) मा राप्रपाकै गिरबहादुर तामाङ र ३(२) मा नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल विजयी हुनुभएको छ ।

दलहरूले अपेक्षा गरेभन्दा फरक ढङ्गले उम्मेदवारहरू निर्वाचित हुनुभएको हो । जिल्लाको विगतको इतिहास फरक छ । कुनै समय कांग्रेस, कुनै समय एमाले र कुनै बेला माओवादी केन्द्रलाई मतदाताले रुचाएको देखिन्छ ।

विसं २०३८ मा सन्तकुमार चौधरी र बगानसिंह गुरुङ जनमत सङ्ग्रहमा निर्वाचित हुनुभएको थियो । उहाँहरू दुवै पञ्चायती पक्षबाट उम्मेदवार हुनुहुन्थ्यो । २०३४ सालको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवाल र भीमबहादुर श्रेष्ठले विजय हासिल गरेको इतिहास छ । २०४८ सालको आम निर्वाचनमा जिल्लामा तीन क्षेत्र रहेकामा तीनै क्षेत्रमा वामपन्थीहरूले जितेका छन् । क्षेत्र नं १ मा एमालेका जागृतप्रसाद भेटवाल, क्षेत्र नं २ मा नेकपा ९प्रजातन्त्रवादी० का भीमबहादुर श्रेष्ठ र संयुक्त जनमोर्चाका अमिक शेरचनले विजय हासिल गर्नुभएको थियो । २०५१ सालमा भएको मध्यावती निर्वाचनमा जिल्लामा चार क्षेत्र बन्यो । क्षेत्र नं १ मा एमालेका जागृतप्रसाद भेटुवाल, क्षेत्र नं २ मा एमालेकै काशिनाथ अधिकारी, क्षेत्र नं ३ मा कांग्रेसका गङ्गाधर लम्साल र क्षेत्र नं ४ कांग्रेसका तीर्थ भुसाल विजयी हुनुभयो ।

विसं २०५६ को आम निर्वाचनमा चारै क्षेत्र कांग्रेसले विजय हासिल ग¥यो । क्षेत्र नं १ मा सावित्री बोगटी, क्षेत्र नं २ मा एकनाथ रानाभाट, क्षेत्र नं ३ मा गङ्गाधर लम्साल र क्षेत्र नं ४ मा नारायण शर्मा विजयी हुनुभयो । निर्वाचन आयोगको विवरणअनुसार विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा जिल्लालाई पाँच क्षेत्रमा विभाजन गरियो । जसमा पाँचै क्षेत्रमा वामपन्थीहरुको जित भयो । क्षेत्र नं १ मा एमालेका लालमणि चौधरी, क्षेत्र नं २ मा माओवादीका रामबहादुर थापा बादल, क्षेत्र नं ३ मा माओवादीकै नारायण दाहाल, क्षेत्र नं ४ मा माओवादीकै चित्रबहादुर श्रेष्ठ र क्षेत्र नं ५ मा जनमोर्चा नेपालका अमिक शेरचन निर्वाचित हुनुभयो ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ मा एमालेका सुरेन्द्र पाण्डे, क्षेत्र नं २ मा कांग्रेसका शेषनाथ अधिकारी, क्षेत्र नं ३ मा एमालेका कृष्णभक्त पोखरेल, क्षेत्र नं ४ मा सुरुमा कांग्रेसका सुशील कोइराला र उपनिर्वाचनमा रामकृष्ण घिमिरे एवं क्षेत्र नं ५ मा राप्रपाका विक्रम पाण्डे विजयी हुनुभयो । २०७४ सालको आम निर्वाचनमा तीन क्षेत्रमा चितवनको निर्वाचन क्षेत्र विभाजन भयो । जसमा क्षेत्र नं १ मा एमालेका सुरेन्द्र पाण्डे, क्षेत्र नं २ मा एमालेका कृष्णभक्त पोखरेल र क्षेत्र नं ३ मा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित हुनुभयो । एमाले र माओवादीको गठबन्धनका कारण प्रदेशका छ वटै क्षेत्र ती दुई दलका उम्मेदवार विजयी हुनुभएको थियो ।

विगतका इतिहासलाई हेर्दा पनि चितवनका मतादाताले समयसमयमा मुख्य राजनीतिक दलका उम्मेदवारलाई निर्वाचित गराएको देखिन्छ । तर यस पटकको निर्वाचन परिणाम भने फरक ढङ्गले आएको छ ।

पार्टीको सिद्धान्त, विचार र घोषणापत्रका आधारमा चल्नुपर्ने दलहरूले बाटो छोडेकै कारण जनतामा असन्तुष्टि देखिएको यहाँका बुद्धिजीवीहरुले औँल्याउनुभएका छन् । वाम बुद्धिजीवी प्रेम रिमाल व्यक्तिलाई पार्टी बनाउने प्रयास गरिएकै कारण पुराना पार्टीप्रति जनतामा वितृष्णा पैदा भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेतृत्वले पार्टी भनेको के हो बुझाउन चाहेनन् ।”

पार्टी भनेको नीति, विचार र कार्यक्रम भएको बताउँदै उहाँले भन्नुभयो, “जनतालाई पार्टी भनेको नेता हो भनेर बुझाउने प्रयास भयो । पार्टी भ्रष्ट नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “पुराना पार्टीले गर्न सक्दैनन् भन्ने होइन, इच्छाशक्ति हराएका पुराना नेताबाट नयाँ काम सम्भव भएन ।” आफू, आफ्नो पारिवार, वरिपरिका व्यक्ति र समूहका मान्छेहरुलाई मात्रै देशको जिम्मा लगाउन खोजेकै कारण जनतामा असन्तोष पैदा भएको उहाँको भनाइ छ ।

लेखक डिआर पोखरेल पार्टी खराब नभएर नेताका कारण आम जनतामा वितृष्णा पैदा भएको बताउनुहुन्छ । दलका नेताहरू जनताप्रति जिम्मेवार नभएको भन्दै पोखरेलले भन्नुभयो, “जनतामा असाध्यै वितृष्णा छ । राजनीति व्यापार होइन, सेवा हो तर दलहरुले यसलाई पेसा र व्यवसाय बनाए ।” सबैले आफ्नै नातालाई नेतृत्वको जिम्मेवारी दिन खोजेको भन्दै पोखरेलले यसको परिणाम इमान्दार कार्यकर्ता पछाडि पर्दै गए र वितृष्णा पैदा भएको बताउनुभयो । पैसा नभएकाहरु निर्वाचनमा लड्न नसक्ने अवस्थाको सिर्जना भएको उहाँ बताउनुहुन्छ ।

शिक्षाविद् रमाकान्त सापकोटा बहुदलीय व्यवस्थापछिको ३० वर्षसम्म आफ्ना कार्यकर्तालाई राजनीति प्रशिक्षण दिने काम कम भएको बताउनुहुन्छ । भूमिगत कालमा राजनीति बुझाउने काम हुने गरेको भन्दै उहाँले खुल्ला परिवेशमा राजनीतिक प्रशिक्षण शून्य हुँदा पुराना दलका कार्यकर्ता नेताप्रति उत्तरदायी नभएको बताउनुभयो । सापकोटाले भन्नुभयो, “प्रणालीभन्दा नेताको नेतृत्व र व्यक्तित्वप्रति प्रश्न उब्जियो ।”

नयाँ पुस्ता राजनीति इतिहासप्रति प्रशिक्षित नभएको उहाँ बताउनुहुन्छ । शिक्षण संस्था र सामाजिक सङ्घसंस्थामा राजनीतिको नकारात्मक प्रभाव देखिएको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो, “यसले गर्दा नयाँ पुस्तामा दलप्रति वितृष्णा भयो ।”

निर्वाचनले ल्याउने परिणामले नयाँ समृद्धि र विकास दिने सन्देश भने नदेखिएको उहाँको भनाइ छ । जनताको आर्थिक, सामाजिक व्यवस्थापनभन्दा नेतृत्वको व्यवस्थापन प्रमुख प्राथमिकतामा परेकै कारण वितृष्णा पैदा भएको उहाँको बुझाइ छ ।

दलभित्रको विधि कमजोर रहेको भन्दै उहाँले भन्नुभयो, “दलभित्रको विधि र प्रणाली सुध्रिनु पर्छ ।” नेपालको राजनीतिमा विदेशी चलखेल हुँदै गर्दा नेतृत्व कमजोर बन्दै गएको उहाँ बताउनुहुन्छ ।

प्राध्यापक डा एकनारायण पौडेल दलका नेताको कार्यशैलीले यो अवस्था सिर्जना भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेताका शैलीका कारणले धेरैमा असन्तुष्टि छ ।” नयाँ सोच नपाएका कारण नेताप्रति जनता विश्वस्त हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेताहरु सच्चिन आवश्यक छ ।” यसै कारण मतदाताले विद्रोह गरेको उहाँको भनाइ छ । बहुदलीय व्यवस्थामा दल आवश्यक भएको भन्दै उहाँले दल चलाउने नेताहरु नै सच्चिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी र सिद्धान्त दोषी होइन, नेता नै दोषी हुन् ।”

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने दलहरुले जनतालाई आश्वस्त दिलाउन नसकेका कारण यो अवस्था सिर्जना भएको बताउनुहुन्छ । दलहरुले युवालाई अगाडि ल्याउन नसक्दाको परिणाम मतदानबाट देखिएको उहाँको बुझाइ छ । दलहरुले स्थायी सरकार दिन नसक्दा पनि समस्या भएको भन्दै उहाँले पुराना ठूला दलको विकल्पमा विकास र समृद्धि सम्भव नभएको दाबी गर्नुभयो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनाल आफूहरुले गरेको दलीय गठबन्धन मतदाताको तहमा तालमेल हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले गठबन्धन ग¥यौँ, तर मतदाता बीचमा व्यवस्थित गर्न सकिएन ।” निर्वाचनमा जोजसले जिते पनि संविधानको रक्षक र कार्यान्वयन गर्ने पक्षमा पुराना दलको भूमिका महत्वपूर्ण हुने उहाँको बुझाइ छ ।

माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी दलको गठबन्धन मतदातास्तरमा हुन नसकेको बताउनुहुन्छ । पुराना दलहरुप्रति आकर्षण घटेको भन्दै उहाँले मतदाताको आक्रोश फरक उम्मेदवारमार्फत प्रकट भएको बताउनुहुन्छ । जनअपेक्षा समयमा दलहरुले बुझ्नुपर्ने उहाँको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्