चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी हुनुभएको छ।
शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे नौ हजार दुई सय ३३ मतान्तरका साथ विजयी हुनुभएको हो।
पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीले २५ हजार आठ सय २२ मत प्राप्त गर्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार आठ सय ४२ मत प्राप्त गर्नुभयो। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार दुई सय ७५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९४ हजार दुई सय ८० मत खसेको थियो।
यस्तै चितवन क्षेत्र नम्बर ३ प्रदेश २ मा नेकपा माओवादीका ठाकुर ढकाल विजयी हुनुभएको छ।
उहाँ १५ हजार चार सय ६१ मतका साथ विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी राप्रपाकी रीना गुरुङले १४ हजार छ सय १५ मत प्राप्त गर्नुभएको छ।
नेकपा (एमाले)की सरस्वती विष्टले १० हजार एक सय २४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेशअन्तर्गतको यस क्षेत्रमा ४४ हजार ६८ मत खसेको थियो।