कालीकोटमा माओवादी केन्द्रका शाही विजयी

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ०४


विकास र समृद्धिको यात्रामा पछाडि परेको कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रतिस्पर्धाको राजनीतिमा तेस्रो जीत निकाल्दै सङ्घीय सांसदमा चुनिनुभएको छ।

नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता शाहीले चलचल्तीको भाषामा ‘ह्याट्रिक’ गर्नुभएको छ। उहाँले २०७० मा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। त्यस्तै, २०७४ सालमा कालीकोटबाट प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भई कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री बन्ने अवसर पाउनुभयो। यसपटक यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उहाँले वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट उम्मेदवार भई फराकिलो जीत हासिल गर्नुभएको छ।

पूर्वऊर्जामन्त्रीसमेत रहनुभएका शाही तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको शुरुआती कालदेखि नेता हुनुहुन्छ। तत्कालीन माओवादीको जनमुक्ति सेनाको डिभिजन कमाण्डरसमेत रहनु भएका नेता शाही कालीकोटमा मात्रै नभई समग्र कर्णाली प्रदेशमै स्थापित नेता हुनुहुन्छ।

विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा उहाँले नेकपा एमालेका कुर्मराज शाहीलाई पराजित गर्नुभएको थियो। विसं २०७४ मा भएको निर्वाचनमा उहाँले प्रदेशसभा सदस्यमा कांग्रेसका कालिबहादुर सहकारीलाई दुई हजार आठ सय मतले पराजित गर्नुभयो।

मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेता शाहीले कूल २४ हजार चार सय ३७ मत प्राप्त गरी विजयी बन्नुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाही नेशनलले १६ हजार दुई सय ३० मत प्राप्त गर्नुभयो ।

कर्णाली प्रदेशको पनि पछाडि परेको कालीकोटमा लगातार उहाँको विजयले मुलुकको राष्ट्रिय राजनीतिमा कर्णालीको सबल नेताका रुपमा शाहीलाई स्थापित गरिदिएको छ । त्यसो त कालीकोटबाट लगातार जीत निकाल्ने सीमित नेतामध्ये शाहीको नामसमेत अङ्कित भएको छ।

जानकारका अनुसार यसअघि पञ्चायत कालमा रास्कोटका धर्मदत्त उपाध्याय लगातार तीन पटक सांसद हुनुभएको थियो। विसं २०४६ को आन्दोलनपछि स्थापना भएको बहुदलीय प्रजातन्त्रसमेतमा कुनै पनि नेताले लगातार विजयी हुने अवसर पाएका थिएनन् ।

कालीकोटको इतिहासमा २०४८ सालमा नेपाली कांग्रेसका तिलक न्यौपाने, २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमालेका यज्ञराज न्यौपाने, २०५६ मा एमालेकै प्रेमबहादुर सिंह र २०६४ मा गणतन्त्र स्थापनापछि पहिलो पटक भएको संविधानसभाको निर्वाचनमा माओवादीका खड्गबहादुर विश्वकर्माले जीतको नाम लेखाउनुभएको थियो ।

माओवादीका पोलिटब्यूरो सदस्य शाही कालिकोटको पचालझरना गाउँपालिका नौ साविकको नानीकोट गाविस–८ मा २०३३ साल माघ १५ गते बुवा लालबहादुर शाही र आमा रणकौंडा शाहीको दोस्रो सन्तानका रुपमा जन्मिनु भएको हो । उहाँले २०४८ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एकताकेन्द्रको सदस्यता लिनुभयो । माओवादी जनयुद्धमा उहाँ पार्टीको सङ्गठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्नुभएको थियो ।

नेता शाहीले सेना समायोजनको क्रममा राजनीतितर्फ लाग्ने निर्णय गर्नुभयो । संविधानसभा सदस्यका रुपमा उहाँले तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने मध्येका एक हुुनुहुन्छ । संविधानसभा सदस्य एवम् ऊर्जामन्त्री र कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री शाहीले पछाडि परेको कालीकोटलाई विकास र समृद्धिको यात्रा अगाडि बढाउनुपर्ने चुनौती छ ।


प्रतिक्रिया दिनुहोस्