लोसपा अध्यक्ष ठाकुर महोत्तरी–३ बाट निर्वाचित

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : ५७


महोत्तरीलोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

आज साँझ सम्पन्न मतगणना परिणामअनुसार ठाकुर १६ हजार तीन सय ७५ मत प्राप्त गरी विजयी हुनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जानकारी दिएको छ । ठाकुरका निकटतम प्रतिस्पर्धी जसपा नेपालका हरिनारायण यादवले १४ हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ।

यसअघि यसै क्षेत्रबाट निकटतम प्रतिस्पर्धीभन्दा झण्डै तेब्बर मत पाएर जित्नुभएका ठाकुरले यसपालि भने कसिलो प्रतिस्पर्धा गर्नुपरेको छ। चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा आजै दिउँसो लोसपाकै वरिष्ठ नेता शरतसिंह भण्डारी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको घोषणा भइसकेको छ।

भण्डारीले २५ हजार एक सय ९० मत प्राप्त गरी जित हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी तमलोपा नेपालका डा विजयकुमार सिंहले ११ हजार १२० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–३ बलवाले जानकारी दिएको थियो ।

जिल्लाका अन्य दुई प्रतिनिधिसभा क्षेत्र १ र ४ को परिणाम आउन अझै बाँकी छ । यता जिल्लाका आठ प्रदेशसभा क्षेत्रमध्ये सात वटाको परिणाम सार्वजनिक भइसकेको छ भने महोत्तरी–१ १ को मतगणना जारी छ।


प्रतिक्रिया दिनुहोस्