बैतडीमा एमालेका भण्डारीको जित

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : ३३


बैतडीबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का दामोदर भण्डारी विजयी हुनुभएको छ। अन्तिम मतपरिणामअनुसार भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नरेन्द्र कुँवरलाई एक हजार पाँच सय ३१ मतान्तरले पराजित गर्नुभएको हो ।

भण्डारीले ३३ हजार छ सय ११ मत ल्याउँदा कुँवरले ३२ हजार ९० मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा ७७ हजार चार सय ६० मत खसेकामा चार हजार नौ सय ६२ मत बदर भएका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो ।

भण्डारी योसहित तेस्रो पटक विजयी हुनुभएको हो । यसअघि उहाँ २०७० र २०७४ सालको निर्वाचनमा विजयी हुनुभएको थियो । भण्डारी एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत हुनुहुन्छ ।

यसैबीच प्रदेशसभा (१) मा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई एक हजार आठ सय १३ मतले पछि पार्दै पाल विजयी हुनुभएको हो । पालले १२ हजार आठ ३१ तथा भण्डारीले ११ हजार १८ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका वीरबहादुर बिष्टले १० हजार नौ सय ५३ मत ल्याउनुभयो ।

प्रदेशसभा (२) मा कांग्रेसका शिवराज भट्ट विजयी हुनुभयो । उहाँले एमालेका लिलाधर भट्टलाई चार सय ३७ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । कांग्रेसका भट्टले १७ हजार एक सय ५३ तथा एमालेका भट्टले १६ हजार सातसय १६ मत प्राप्त गर्नुभयो । जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार चार सय १६ जनाले मतदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस्