रौतहट १ मा माधव नेपाल विजयी

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १ : ०८


संसद्कै ठूलो कम्युनिष्ट पार्टी नेकपा (एमाले)बाट अलग भइ गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल छैटौँ पटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ ।

उहाँ रौतहट क्षेत्र नं १ बाट ३३ हजार पाँच सय २२ मत ल्याई निकटतम प्रतिद्वन्द्वी एमालेकै अजयकुमार गुप्तालाई फराकिलो मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

नेपाली कांग्रेसले नेतृत्व गरेको वर्तमान लोकतान्त्रिक वाम गठबन्धनबाट सरकारको एक घटक एकीकृत समाजवादीका नेता नेपाल सोही गठबन्धनका सहयोगमा प्रतिनिधिसभामा पुग्न सफल हुनुभएको छ ।

यसअघि विसं २०४८ देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य तथा प्रमुख विपक्षी दलका नेता रहनुभएका नेपाल विसं २०५६, २०६५, २०७० र २०७४ मा पनि प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँले विसं २०५० सालदेखि २०६५ वैशाखसम्म नेकपा (एमाले) महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो।

विसं २०६६ जेठदेखि २०६७ माघसम्म प्रधानमन्त्री हुनुभएका अध्यक्ष नेपाल त्यसअघि एमालेका अध्यक्ष मनमोहन अधिकारीका नेतृत्वमा रहेको मन्त्रिमण्डलमा विसं २०५१ मङ्सिरदेखि २०५२ भदौसम्म परराष्ट्र र रक्षामन्त्रालयको कार्यभारसहित उपप्रधानमन्त्री हुनुहुन्थ्यो।

विसं २०२२ देखि वामपन्थी विद्यार्थी सङ्गठनबाट राजनीतिमा संलग्न हुनुभएका उहाँ विसं २०२६ मा नेकपा पुष्पलाल समूहमा आवद्ध हुनुभयो।

उहाँसँग नेकपा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव पनि छ । ‘नेपाल अधिराज्यको संविधान २०४७’ संविधान सुझाव आयोगका सदस्य तथा संविधानसभा, संवैधानिक समितिका सभापति भएर उहाँले काम गर्नुभयो।

पिता मङ्गलकुमार र माता दुर्गादेवी उपाध्यायका कोखबाट विसं २००९ फागुन २३ गते रौतहटमा जन्म भई राजनीतिक आन्दोलनका क्रममा १६ वर्ष भूमिगत तथा पटक–पटक गरी दुई वर्ष ६ महिना बन्दी जीवन बिताउनुभएका नेता नेपाल शाही शासनकालमा घरमै नजरबन्द हुनुभएको थियो ।

निष्ठावान् राजनीतिज्ञका रूपमा आफूलाई परिचित गराउन चाहने अध्यक्ष नेपालले मुलुकको शान्तिप्रक्रियामा ठूलो भूमिका खेल्नुभएको छ । उहाँको ‘जनताको बहुदलीय जनवाद’ र ‘जनता जाग्दैछन्’, शीर्षक कृति प्रकाशन हुनाका साथै उहाँसँग सम्बन्धित ‘संसद्मा माधव नेपाल’, ‘प्रधानमन्त्री माधव नेपाल’का मन्तव्यलगायत कृति पनि सार्वजनिक भएका छन् ।


प्रतिक्रिया दिनुहोस्