यस्तो छ भक्तपुरको पछिल्लो ‘अपडेट’

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ४८


भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा साँझ ५ बजेसम्मको १५ हजार मत गणना गर्दा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले अग्रता कायम राखेको हो ।

यहाँ लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतभन्दा छ सय ८३ मतान्तरले अगाडि हुनुहुन्छ।

नेपाली कांग्रेसका थापाले छ हजार एक सय ९४ मत प्राप्त गर्नुभएको छ भने एमालेका बस्नेतले पाँच हजार पाँच सय १९ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ९८, राष्ट्रियता प्रजातन्त्र पार्टीले एक हजार एक सय ११ र नेपाल मजदुर किसान पार्टीले छ सय ६९ मत प्राप्त गरेको छ ।

त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा एमालेले अग्रता लिएको छ । एमालेले आठ सय २० मत प्राप्त गर्दा राप्रपाले सात सय ७६ मत ल्याएको छ । नेमकिपाले छ सय ८२ मत पाएको छ । सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवारले पाँच सय पाँच मत पाएका छन् । यस क्षेत्रमा नेकपा ९एमाले० का तर्फबाट नवराज गेलाल, राप्रपाका तर्फबाट भरतबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सु्वाल, सत्ता गठबन्धनका तर्फबाट सुनिल गोठेले उम्मेदवारी दिएका छन्।

त्यसैगरी प्रदेशसभातर्फ भक्तपुरको क्षेत्र नंं १ अन्तर्गतको चाँगुनारायण प्रदेशमा नेपाली कांग्रेसका उम्मेदवारले फराकिलो मतले अग्रता लिएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेश श्रेष्ठले दुई हजार तीन ८९ मत ल्याउँदा एमालेका मोहनवीर श्रेष्ठले नौ सय ७९ मतले पछ्याउनुभएको छ। राप्रपाका उम्मेदवार दीपक कुइँकेलले भने चार सय ७१ मत ल्याउनुभएको छ।

त्यस्तै क्षेत्र नं २ अन्तर्गतको सूर्यविनायक प्रदेशमा एमालेले अग्रता लिएको छ। एमालेका प्रदेशसभा उम्मेदवार किरण थापाले एक हजार एक सय ३८ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले नौ सय ३९ मत ल्याउनुभएको छ । राप्रपाका उम्मेदवार विक्रम थापाले तीन सय १२ मत तथा नेमकिपाका सरोजराज गोसाइँले दुई सय दुई मत ल्याउनुभएको छ । दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकसमेतको मतगणना सुरु गरेकाले नतिजा आउन एक साता लाग्ने मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस्