इलाम– १ मा एमालेका बस्नेतको सुरुवाती अग्रता, झलनाथ पछाडि

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ४४


इलाम क्षेत्र नं १ मा नेकपा एमालेका महेश बस्नेतले सुरुवाती अग्रता लिनुभएको छ।

आज अपराह्नबाट सुरु भएको गणना जारी छ। साँझ ५ः३० बजे निर्वाचन कार्यलयले दिएको जानकारीअनुसार दुई हजार छ सय ८९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बस्नेतले एक हजार दुई सय ५८ मत प्राप्त गर्दा नेकपा (एकिकृत समाजवादी)का झलनाथ खनालले एक हजार ४१ मत प्राप्त गर्नुभएको छ। खनाल गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ।

आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनमा इलामबाट एक लाख २९ हजार एक सय ७५ मत खसेको थियो। यो कूल मतदाता सङ्ख्याको ५७.७७ प्रतिशत हो।

जसमध्ये पुरुषतर्फ ६८ हजार चार सय ५८ र महिलातर्फ ६० हजार सात सय १७ ले मतदान गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिनुभएको छ।

दुई लाख २४ हजार आठ सय ७७ मतदाता सङ्ख्या रहेको इलाममा एक सय ५० मतदानस्थल र एक सय ३६ मतदान केन्द्र रहेका छन्।


प्रतिक्रिया दिनुहोस्