उत्साह र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेकोछ: पूर्वप्रमुख आयुक्त

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १२ : ०८


प्रतिनिधिभा र प्रदेशसभा सदस्यका लागि आज भइरहेको मतदान उत्साह, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा भइरहेको छ ।

आमनिर्वाचन पर्यवेक्षण समितिका तर्फबाट निर्वाचन पर्यवेक्षणमा रहनुभएका पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले व्यवस्थित र शान्तिपूर्ण ढङ्गबाट मतदान भइरहेको पाइएको बताउनुभयो।

सप्तरी जिल्लामा निर्वाचनको पर्यवेक्षणमा रहनुभएका अर्का पूर्वप्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले उत्साहित र व्यवस्थितरुपमा पङक्तिबद्ध भएर मतदाता मतदानको अधिकार प्रयोग गरिरहेको प्रतिक्रिया दिनुभयो।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बिहान सबेरैदेखि मतदाता लाइनमा बसेर मतदानमा भाग लिइरहनुभएको बताउनुभयो।

उहाँले भन्नुभयो, “शान्त वातावरणमा मतदान सञ्चालन भइरहेको छ, मतदाता उत्साहित छन्, कतिपय मतदानस्थलमा मतदाता बिहान सबेरैदेखि मतदानका लागि लाइनमा बसेको देखिन्थ्यो।”

चिसो मौसमका कारण कतिपय मतदानस्थलमा बिहान ८ बजेदेखि मात्रै मतदाताको उपस्थिति बाग्लो भएको देखियो।

पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान

यसैबीच, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौं पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट बिहान ९ः४५ बजे मतदान गर्नुभएको छ। मतदानपछि रासससँग कुराकानी गर्दै उहाँले देशको भाग्य र भविष्य निर्माण गर्ने मतदानमा भाग लिन सम्पूर्ण मतदातालाई आग्रह गर्नुभयो।

पूर्व प्रधानन्यायाधीश रेग्मीले भन्नुभयो, “शान्तिपूर्ण, सहज र सरलरुपमा मतदाताले मतदान गरिरहनु भएकोछ, दिउँसो मतदाताको उपस्थिति अझै बाक्लो हुने अनुमान गरेको छु।”


प्रतिक्रिया दिनुहोस्