ब्यवसायी र बुद्धिजिवीको साथ बलदेवलाई, यसरी परे ‘विपक्षी’ कै रोजाईमा

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ८ : १७


काठमाण्डौँ । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ को बारेमा चुनावी चर्चा भइरहेको थियो चार नम्बरको गैरे मिष्ठान्ह भण्डारमा । त्यहाँ बिभिन्न पार्टीका उम्मेदवारको योग्यताको बारेमा कुराकानी भइरहेको थियो । त्यसमध्ये पनि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल बलदेव र एमालेका उम्मेदवार बलराम अधिकारीको बढी चर्चा भयो । केही दलका नेता पनि त्यहाँ थिए । उनीहरुले आफ्नै दलका नेताको बखान गर्थे । कुराकानीमा बलदेव र बलराममा अहिले निकै ठुलो प्रतिस्पर्धा हुन्छ भन्ने कुरा भइरहेको थियो । यसले जित्छ भनेर कसैले मुख फोर्न सकेका थिएनन् ।

त्यत्तिकै एमालको राजनीति गर्ने एक जना पुरुष नेताले भन्दै थिए ‘नेता त बलदेवजस्तो हुनुपर्दछ । चुनाव जितेर मन्त्री भएर काम गर्न नपाए पनि उहाँ फेरि एकपटक जिल्लाले जिताउनु पर्ने नेता हो । उहाँ सरल पनि हुनुहुँदो रहेछ । पार्टी जे भए पनि हामीलाई चाहिएको केन्द्रबाट बजेट ल्याउने नेता हो । एकपटक सोच्नुपर्दछ ।’

त्यही स्थानमा केही विद्यालयका शिक्षक, सामाजिक संस्थामा आवद्ध भएका र राजनीतिमा निकै चासो र चिन्ता राख्ने अरु ब्यक्तिहरु पनि थिए ।

त्यसैक्रममा एक जना सरकारी विद्यालयका शिक्षकले पनि थपे ‘जिताउनु पर्ने नेता त बलदेव नै हो क्यारे तर माहोल अर्कै अर्कै छ भन्छन् । बलदेवले जिते त कपिलवस्तुमा केही हुने थियो हारे भने अरुले केही गर्लान् भन्ने लाग्दैन ।
कुरामा कुरा थप्दै गर्दा यस क्षेत्रमा बुद्धिजिवी मानिने अर्का एक जनाले भने बलदेव बराबर अरु उम्मेदवार छैनन् । एमालेले पनि ठिक उम्मेदवार उठाउन सकेन । त्यसको फाइदा बलदेवले लिन सक्नुहुन्छ । फेरि उहाँ कपिलवस्तुको विकासको लागि चाहिने नेता हो ।’

यस्तै गर्दै धेरैले धेरै कुरा गरेका थिए । सबै राजनैतिक सुझबुझ राख्ने खालका थिए । त्यहाँ कुरा गर्न जम्मा भएका तर राजनीति त्यति नुबझेकाले पनि बलदेव त जिताउनु पर्ने मान्छे रहेछन् भनिरहेका थिए ।

कुराकानीमा जो–जो उम्मेदवार उठेको भए पनि बलराम र बलदेवकै चर्चा बढी थियो । दुवैलाई कसैले खराब भनेनन् तर धेरैको रोजाइमा बलदेव परेका थिए । एमालेका नेताले पनि बलदेवलाई नराम्रो नेता मानेको पाइएन ।
बलदेव धेरै मानिसको रोजाइमा पर्नुको पछाडी केही कारण छन् ।

पहिलो कारण बलदेव इमान्दार र काम गर्ने नेता हुन् जानकार भन्छन् दोश्रो उनको केन्द्रमा पनि पहुँच राम्रो हुनु र पार्टीमा शक्तिशाली पनि रहनू ।

‘हामीले त जो सरकारमा जानेवाला छ, उसलाई जिताउनु पर्दछ । किनकि यहाँ धेरै विकास गर्नु छ । त्यो मानेमा बलदेव चुनाव जितेर मन्त्री हुन ल्याकत राख्छन् । अरुले जिते खै हो भन्न सकिन्न’, हाँस्दै एक युवकले भने ‘

बलदेवका विपक्षी पनि बलदेवलाई जिताउन पाए केही काम गर्न सकिन्थ्यो भन्ने आशामा छन् भने यहाँका अधिकांस ब्यवसायी बलदेवको यही तागतको कारण उनीसंग नजिक हुन खोजिरहेको देखिन्छ । बलदेव मन्त्री बन्ने पक्का भएका कारण फरक पार्टीको भए पनि एकपटक उनलाई जिताउने पक्षमा ब्यवसायी देखिन्छन् ।

किनभने आगामी सरकार गठबन्धनको बन्ने पक्का छ । त्यस्तोमा बलदेवले राम्रै मन्त्रालय पाउँछन् । बलदेव मन्त्री भए केही लाभ या काम लिन सकिन्थ्यो कि भन्ने आशा ब्यवसायीमा छ । उसो त ७४ को वाम गठबन्धनमा अहिलेका विपक्षीले नै बलदेवलाई मत मागेका थिए । त्यसैले पनि बलदेवलाई मत खसाल्न समस्या नरहेको एक जनाले सुनाए ।

विद्यालयका शिक्षक लगायत धेरैले यस्तै बताए । निकै पेचिलो र चर्चामा रहेको क्षेत्र नम्बर १ मा कसले जित्ला भनेर हाम्रो टिम बिभिन्न वडामा बुझ्न हिँडेको थियो । त्यसक्रममा चोकचोक र चिया चौतारीमा कसले के कुरा गर्छन् भन्नेलाई चुनाव विश्लेषणको आधार मान्दै बिभिन्न ठाउँमा गएका थियौँ । मुख्य गरी बलदेव र बलरामकै बुझ्नु थियो हामीलाई ।

यसरी भेट भएका ठाउँमा धेरैले यस्तै भन्दै थिए । बलदेवको स्थानमा गठबन्धनको वातावरण त्यति ठिक नभएको गुनासो भए पनि अरु उम्मेदवार पनि योग्य नहुँदा फेरि एकपटक बलदेवलाई जिताउने पक्षमा मतदाता देखिन्छन् । अरु पार्टीका र स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धा गर्ने लायक नभएका, एमालेका बलराम अधिकारी पनि एक पटक परीक्षण भइसकेका हुनाले चाहेर–नचाहेर पनि यसपटक बलदेवलाई भोट हाल्ने सोँचमा मतदाता छन् ।

शुद्धोधन गाउँपालिकामा एक जनालाई बलराम र बलदेव दुवै नेता मन परेको रहेनछ । अरु पार्टी र स्वतन्त्रलाई उनी मत खसाल्ने सोँचिरहेका रहेछन् यसपाली । तर योग्य उममेदवार अरु पनि नभएपछि बलदेवलाई नै मत खसाल्न बाध्य हुनुपरेको ती पुरुषले बताए । उनी ५० बर्षका थिए ।

उनले यसपटक बलदेवको चुनाव चिन्ह हँसिया हथौडामा खसाल्ने सोँच बनाएको सुनाए । प्रतिनिधिमुलक ढंगबाट हेर्दा बलदेव सबैको रोजाइमा परेको पाइयो । तीव्र प्रतिस्पर्धा बलदेव र बलराममै हुने भए पनि गठबन्धनमा धोका नहुने हो भने यस आधारमा बलदेवले जित्ने स्थिति देखिन्छ । तर गठबन्धनका बागी उम्मेदवार ललित गुरुङ र दक्षिणमा नेकपा एसका प्रदेश उम्मेदवार फैजल खानको उम्मेदवारीले बलदेव तनावमा छन् । यदि फैजल र गुरुङतर्फको मत बलदेवले पाएनन् भने उनी हार्नेछन् र एमालेका बलराम अधिकारीले चुनाव जित्ने आंकलन गरिएको छ । यता बलदेव र बलराम दुवैले चुनाव जित्ने दावी गर्दै आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्