एनआईसी एशिया बैंकमा भिडियोबाटै केवासी अद्यावधिक गर्न सकिने

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ७ : ३६


काठमाडौं । एनआईसी एशिया बैंकमा भिडियो केवासी बाटै ग्राहक केवाइसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । घर वा अफिसबाटै आफ्नो खाताको केवाइसी विवरण अद्यावधिक गर्नका लागि बैंकको वेबसाइटमा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी इ– केवाइसी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाइसी अद्यावधिकको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी पेश गर्नुपर्ने जनाएको छ ।

ग्राहकहरूले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा भिडियो कल मार्फत केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् । बैंकिङ्ग समयमा भिडियो कलको लागि अपोइन्टमेन्ट बुक गरी सो समयमा केवाइसी विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहकहरूको लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको सुरुवात गरिसकेको छ

ग्राहकहरूले भिडियो केवाइसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता÷पासपोर्ट÷ड्राइभिङ लाइसेन्स÷मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कल मार्फत देखाउनु पर्नेछ ।

भिडियो केवाइसी मार्फत केवाइसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरूले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । स्वदेश वा विदेशमा रहेका ग्राहकहरूलाई भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा यसबाट ग्राहकहरूलाई उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्