रुसी क्षेप्यास्त्र पोल्याण्डमा खस्दा दुई जनाको मृत्यु

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  २ : १३


वार्सा । पोल्याण्डले रुसमा निर्मित क्षेप्यास्त्र देशको पूर्वी भागमा खसेको तथा त्यसबाट आफ्ना दुई जना नागरिक मारिएका बताएको छ। क्षेप्यास्त्र खसेसँगै रुस–पोल्याण्डबीच आरोपप्रत्यारोप पनि शुरु भएको छ।

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को सदस्य पोल्याण्डमाथि नियतवश आफ्नो भूमिमा आक्रमण भएको वार्साले आरोप लगाएको छ भने मस्कोले त्यसको खण्डन गरेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमर जेलेन्स्कीले घटनाको निन्दा गर्नुभएको छ।

इण्डोनेसियाको बालीमा क्षेप्यास्त्र प्रहारको विषयलाई लिएर नाटोको आपत्कालीन बैठक भएको छ।

बैठकमा राष्ट्रपति बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोेन डेयर उपस्थित हुनुहुन्थ्यो।

उन्नत अर्थतन्त्र भएका प्रमुख विकसित देश अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, जापान, बेलाइत र इटाली सम्मिलित अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक सङ्गठन जी सेवेनको बैठक पनि भएको छ।

इण्डोनेसियाको बालीमा जारी विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको शिखर बैठकमा पनि उक्त घटनाबारे विश्वनेताले चिन्ता व्यक्त गरेका छन्।

प्रारम्भिक विवरणअनुसार रुसको नियोजित आक्रमण हो वा होइन भन्नेबारेमा पोल्याण्डले अनुसन्धान थालेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले क्षेप्यास्त्र रुसबाट प्रहार नभएको हुनसक्ने बताउनुभएको छ ।

अन्नपात सुकाइरहेका गाउँलेमाथि क्षेप्यास्त्र खसेको पोल्याण्डका सुरक्षा अधिकारीहरूले बताएका छन्।

जी सेभेनले क्षेप्यास्त्र आक्रमाणको निन्दा गरेको छ। एक वक्तव्य निकालेर समूहले आक्रमणलाई बर्बर भनेको छ। पोल्याण्डको अनुसन्धानप्रति आफ्नो पूर्ण समर्थन रहेको तथा सहयोग गर्न तत्पर रहेको बताएको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पनि पोल्याण्डमा क्षेप्यास्त्र खसेको घटनाबाट आफू चिन्तित रहेको बताउँदै त्यसको विस्तृत अनुसन्धानका लागि आह्वान गर्नुभएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्