महेन्द्र राजमार्गभन्दा पुरानो बाटो बनेन, मतदाताको अन्तिम भरोसा ‘बलदेव’

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : ०८


काठमाण्डौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ मा एउटा बाटो छ । जुन बाटो महेन्द्र राजमार्गभन्दा पनि पुरानो बाटो हो । चप्परगाउँ चोकबाट दक्षिणतर्फ सूर्योदय आधारभुत विद्यालय जाने क्रममा करिब ५०० मिटरको बाटोको स्तरउन्नति गर्ने सन्दर्भमा आजसम्म ‘न’ नेताले हेरे ‘न’ त स्थानीय सरकारले नै प्राथमिकतामा राख्यो ।

त्यो बाटोभन्दा नयाँ बाटा बने, पीच भए तर त्यहाँ कसैको नजर नपर्दा बर्षायाममा डुवान हुन्छ । महेन्द्र राजमार्ग लगायत उत्तरबाट आउने पानी जम्मा भएर त्यही बाटोमा जम्मा हुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । किनकि त्यहाँ ढल तथा नालीको ब्यवस्थापन छैन । हिउँदमा धुलाम्य भएर प्रदुषण हुन्छ । त्यति मात्र होइन पानी पर्दा बर्खायाममा बालबच्चा स्कुल जान पाउँदैनन् । कतिपय अवस्थामा बालबालिका नै डुब्छन् कि भन्ने डर स्थानीयलाई छ । त्यहाँ करिब ४० घर परिवारले यस्तो दुख हरेक बर्ष पाइरहेका छन् ।

त्यही बाटोको नजिकै एमालेका केन्द्रीय सदस्य तथा आगामी मंसिर ४ गतेको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेका बलराम अधिकारीको घर पनि छ । उनी त्यही बाटो पटकपटक ओहरदोहर गर्छन् तर त्यो बाटोको दुर्दशाको बारेमा उनलाई चासो छैन । त्यही बाटो बनाउने चुनावी मुद्धा बनाएर एमालेले दुईदुई पटक स्थानीय सरकारमा वडा अध्यक्ष जित्यो । तर त्यो बनाउने सुरसार अहिलेका वडा अध्यक्षले देखाउँदैनन् । ‘हिजो चुनाव जितेका जनप्रतिनिधि र कुनै दलका नेताले पनि त्यो बाटो स्तरउन्नति गर्ने सवालमा चासो नदेखाएको बताउँछन्’, स्थानीय सूर्य गौतम ।

यही समस्या बोकेर पटकपटक नेता र स्थानीय सरकार गुहारेका सूर्य गौतम अब अन्तिमपटक नेताहरुलाई हारगुहार गर्दैछन् । अरु बेला घुम्न नआए पनि चुनावको बेला नेताहरु आउँछन् भन्ने विश्वासमा रहेका उनले शुक्रबार चप्परगाउँमा चुनावी प्रचारमा हिँडेका वाम लोकतान्त्रिक गठबन्धनबाट कपिलवस्तुको तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका बलदेवलाई भेटे र आफूहरुको दुख सुनाए ।

उनले भने ‘बलदेव ज्यू हाम्रो घरनजिक महेन्द्र राजमार्गभन्दा पुरानो बाटो छ । आजसमम कुनै नेताले हेरेनन् । यो बाटो बनाउनु पर्यो, हजुरलाई हामी सबैले भोट दिन्छौँ । हाम्रो माग धेरै छैन सके पीच नभए पनि नाली र ढलको निकास गराइदिनुपर्यो । हामीलाई स्थानीय सरकाले पनि हेरेन । उनले थपे बर्खामा त हामी दुख पाउँछौँ । यहाँ डुबान हुन्छ । बालबालिका नै डुब्ने खतरा छ । हिँडडुल गर्न पनि धुलोले गर्दा समस्या छ । केही त गर्नु पर्यो । अब अन्तिम भरोसा तपाईसंग मात्र छ । धेरै नेतालाई गुहारीसक्यौँ तर समस्या समाधान भएन ।’

गौतमका कुरा ध्यानपूर्वक सुनेका बलदेवले अब आफ्नो बसाई पनि वडा नम्बर ८ मै रहेकाले हेरेर चुनावपछि बनाउने प्रतिवद्धता जनाए । उनले गौतमलाई भने ‘म मन्त्री भए पनि यसबाटोको बारेमा कसैले जानकारी दिनुभएन । यति काम स्थानीय सरकारले पनि गर्न सक्दथ्यो । के कारणले बाटो बनेन हेरेर तुरुन्त काम अघि बढाइन्छ । चिन्ता नलिनु ।’

बलदेवले आफूले जितेपछि अब कपिलवस्तुको कायापलट गर्ने बताए । हिजो मन्त्री हुँदा केही कमजोरी रहेको स्विकार गर्दै उनले आगामी दिनमा त्यस्तो गल्ती दाहोरिन नदिने बताए ।
बलदेवको आश्वासनपछि उनी खुसी भए । त्यसैगरी स्थानीय अमृता पौडेलले पनि मिडिया र बलदेवसामु त्यही समस्या सुनाइन् । बाटो बनाउने शर्तमा बलेदेवलाई भोट दिने उनले बताइन् । सबै उम्मेदवारसंग आफ्नो समस्या राखे पनि भरोसा भने बलदेवसंग मात्र रहेको स्थानीयको भनाई छ । स्थानीय अगुवा राजु अधिकारी पनि पुरानो बाटोको दुर्दशा कसैले नदेखेकोमा चिन्तित छन् ।

 


प्रतिक्रिया दिनुहोस्