विवाहले करिअरमा असर नगरेका अभिनेत्री

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : ०७


विवाहका लागि साइत जुर्नुपर्छ । तर, अभिनेत्रीहरू भने करिअर निर्माणमै बढी समय खिर्चिने हुँदा विवाह ढिला गर्छन्।

नेपाली ग्ल्यामर क्षेत्रमा केही त्यस्ता चर्चित अभिनेत्रीहरु छन्, जसले विवाह पश्चात करिअरलाई उचाइमा लगे । बिहे गरेपछि ‘फ्यान फलोइङ’ घट्छ, अझ सन्तान जन्मिएपछि त फिल्मी करिअर नै समाप्त हुन्छ भन्ने बुझाइ ग्यामलर क्षेत्रमा पाइन्छ।

यद्दपि नेपाली फिल्ममा बिहेपछि नै अभिनय करिअर सुरु गरेर सफलता चुमेका थुप्रै उदाहरण छन्। सदाबहार अभिनेत्रीको ट्याग पाउनु भएकी अभिनेत्री करिश्मा मानन्धरले अभिनय यात्रामा सफलता विवाह पश्चात प्राप्त गर्नुभएको हो।

कस्तुरी फिल्मको सुटिङका क्रममा सोही फिल्मका निर्माता विनोद मानन्धरसँग उहाँको विवाह भएको थियो।

बिस.२०४६ मा निर्माण भएको ‘सन्तान’ फिल्मबाट अभिनय यात्रा सुरु गर्नुभएकी अभिनेत्री मानन्धर एक छोरीकी आमासमेत हुनुहुन्छ । यद्दपि फिल्म, विज्ञापन, म्युजिक भिडियोमा उहाँको अभिनय देख्न पाइन्छ। उहाँले फिल्ममा प्राप्त गरेको सफलता विवाह पश्चातनै हो।

उहाँले अभिनय गरेको फिल्म ‘बगान’ आउँदो फागुनमा प्रदर्शन हुँदैछ। २०५२ सालमा निर्माण भएको ‘दाइजो’ फिल्ममा छोटो भूमिकामा देखिनुभएकी अभिनेत्री झरना थापा २०५५ सालमा आफैले निर्माण गरेको ‘धर्मसङ्कट’ बाट स्थापित हुनुभयो।

यो फिल्ममा उहाँको पति सुनिलकुमार थापाले निर्माण गर्नुभएको थियो। उहाँ होम प्रोडक्सनकै फिल्ममार्फत स्थापित हुनुभएको हो । “मेरो करिअरमा ‘ए मेरो हजुरको महत्व छ । यहीँ फिल्ममा अभिनय गरेपछि मैले करिअरमा नयाँ उचाइ पाएँ।

यहीँ नामको फिल्ममार्फत निर्देशनमासमेत मेरो उदय भयो”, अभिनेत्री थापाले भन्नुभयो,“मलाई आमा हुँदा करिअरमा कुनै असर गरेन् । मैले छोरीलाई समय दिन सकिन भन्ने चाही लाग्थ्यो ।” रेखा थापाले विवाह पश्चात अभिनय प्राप्त गर्नुभएको सफलता उदाहरणीय नै छ । सञ्चिता लुइँटेल, प्रियङका कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाह पश्चात अभिनयमा सक्रिय नै छन्।

“विवाह पश्चात झनै स्वतन्त्र महसुस हुन्छ । विवाह अगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुनेरहेछ । श्रीमान्को साथले करिअरलाई अगाडि बढाउन मद्दत गरिरहेको छ । म छोरी र बुहारीलाई सन्तुलन गरेर अभिनय यात्रामा छु”,अभिनेत्री शर्माले भन्नुभयो,“अभिनेत्रीले अभिनय गर्न सक्दासम्म अन्य पक्षले असर गर्छ जस्तो लाग्दैन्।”

उहाँले अभिनय गरेको फिल्म ‘झिँगेदाउ’ यसवर्षको सुपरहिट फिल्ममा सामेल भइसकेको छ। रासस


प्रतिक्रिया दिनुहोस्