शंख बजाएर भोट माग्दै नेपाली ‘योगी आदित्यनाथ’, विधर्मीलाई हराउन अपील

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ११ : ५४


काठमाडौंको क्षेत्र नं-२ मा सम्भावित ‘हेभिवेट’ मानिएका माधवकुमार नेपाल रौतहट गएपछि अहिले यो क्षेत्र सत्तागठबन्धनको भागबन्डाबाट नेकपा माओवादी केन्द्रको पोल्टामा परेको छ।

अघिल्लो चुनावमा रोल्पाबाट उठेकी माओवादी केन्द्रकी ओनसरी घर्तीमगर यस क्षेत्रबाट गठबन्धनकी साझा उम्मेद्वार छिन्।

सहरमा खासै जनमत नभएको माओवादी केन्द्रलाई चुनाव जित्न हम्मेहम्मे पर्न सक्ने आँकलन स्वयं उम्मेद्वार र यस पार्टीका नेताहरूको अभिव्यक्तिबाटै बुझ्न सकिन्छ।

यसअघि कहिल्यै यो क्षेत्रबाट नउठेकी ओनसरीको प्रचारप्रसारमा स्वयं सत्तागठबन्धनका शीर्षनेता लागि परिरहेका छन्।

केहिदिन अघि सो क्षेत्रमा आयोजित चुनावीसभामा प्रधामन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भए।

सभामा बोल्दै देउवा, दाहाल र नेपालले सत्ता गठबन्धन र सरकारको गुणगान त गाए नै, तर त्योभन्दा धेरै यहाँबाट उम्मेदवार बनेकी ओनसरी घर्तीलाई जिताउन आग्रह गरे, उनको प्रशंसा गरे, मन्त्री बनाउने वचन समेत दिए।

नेताहरूको बोलीमा रोल्पाबाट काठमाडौं आएर उम्मेदवारी दिएकी घर्तीलाई जिताउन जोडबल प्रष्टै झल्किन्थ्यो।

माओवादी शसस्त्रद्धन्द्धसँग विमतीराख्ने शहरीया समाज र कतिपयका शब्दमा ‘जनता लडाएर आफू सत्तामा पुग्ने भर्याङ’ मात्रै बनेको अधुरो यो आन्दोलनमा जोडिएकी ओनसरीको चुनावी घोषणापत्र मतदाता समक्ष कति बिक्न सक्ला? आगामी चुनावी परिणामले नै देखाउने छ।

यस क्षेत्रबाट नेकपा एमालेले मणिराम फुयाँललाई उम्मेद्वार बनाएको छ। राप्रपाबाट कुन्ती पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम र नेपालका लागि नेपाली पार्टीका राममणी नेपाल पनि चुनावी दौडमा छन्।

अन्य उम्मेद्वार भन्दा नेपालका लागि नेपाली पार्टीका उपाध्यक्ष समेत रहेका राममणी नेपालको पहिचान अलि फरक छ। उनी साधु हुन। स्वच्छ, शालिन र मृदुभाषी स्वभावका राणमणी उपत्यकाकै स्थानीय बासिन्दा हुन। काठमाडौंमै पढे, हुर्के बढेका उनलाई यहाँको भुगोल वस्तुस्थितीबारे राम्रो ज्ञान छ। विभिन्न धार्मिक संघसंस्थासँग आवद्ध समेत रहेका उनी गौडिय बैष्णव सम्पद्रायका व्यक्तित्व हुन।

देशमा फैलिएको विकृति विसंगति देखेर वाक्कदिक्क भएपछि आफुले राजनीतिमा हाम फालेको उनी बताउँछन्। सबैमाझ लोकप्रीय राममणी अहिले आफ्नो सन्त भेषमै मतदाता समक्ष भोट मागिरहेका छन्। उनको भेष र राजनीतिप्रतिको लगाव देखेर कतिपयले उनलाई भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यानाथको नेपाली भर्जन समेत भन्ने गरेका छन्।नेपालको पार्टीको चुनाव चिन्ह नै शंख नै रहेको छ।

हाल उनी काठमाडौं क्षेत्र नं २ को टोलटोलमा पुगेर भजन किर्तनका साथ शंख बजाउँदै शंखमा भोट मागिरहेका भेटिन्छन्। चुनाव चिन्ह शंखमा भोट हालेर विधर्मीहरुलाई परास्त गर्न उनले अपील गरिरहेका छन्।

आफ्नो मुल एजेण्डा नै नेपाललाई सबल र समृद्ध राष्ट्र बनाउनु रहेको उनी बताउँछन्।

उनी भन्छन्, ‘पुराना दलको दलदलले देश परदेश र विदेश बन्दै छ। हाम्रा झण्डै ८० लाख युवा विदेशमा छन्। बाँकी २० प्रतिशतलाई पनि विदेशमै जान बाध्य गराईंदै छ। उनीहरुले पनि देशमा बसेर केहि गर्न नसकिने र विदेशीने योजना बनाइरहेका छन्। यो अवस्था कसरी सिर्जना भयो? यसलाई हामी रोक्छौं।’

पुराना दलहरुबाट जनता पूर्णरुपमा निराश भएकाले विकल्प खोजिरहेका छन्। मंसिर ४ को चुनावमा स्वच्छ छवि र देशलाई प्रेम गर्ने उम्मेद्वार, सनातन धर्म संस्कृति र नेपालीको पहिचान जोगाउने अभियन्तालाई अत्यधिक मतका साथ जिताउनेमा आफू ढुक्क रहेको उनको भनाई छ।

भ्रष्ट र पतित व्यक्ति राजनीतिमा आउँदा यसले समाज र देशलाई नै बर्बाद गर्ने हुँदा काठमाडौं क्षेत्र नं ४ जस्तो शिक्षित समाजले मतदान गर्नुअघि पक्कै सोच्ने नेपालको विश्वास छ।

घरदैलो कार्यक्रम गरिरहँदा समाज परिवर्तनका लागि नेतृत्व लिन स्वच्छ व्यक्ति अग्रसर हुनुलाई राम्ररी लिएको मतदाताहरुले प्रतिक्रिया दिइरहेको उनले बताए।

राजनीति नै मूल नीति भएकाले यहाँबाट आमुल परिवर्तन गर्न सकिने ठानेर काठमाडौं क्षेत्र नं-२ र समग्र नेपाली युवाको हितका लागि महत्वपूर्ण भिजनका साथ आफू चुनावमा भाग लिइरहेको नेपालले दैनिक अनलाइनलाई बताए।

नेपाली धर्म संस्कृतिको जर्गेना, परदेशिएका युवा स्वदेश फर्काउने, स्वदेशी उत्पादन र स्वदेशी संस्कृतिको विकास गरि मुलुकलाई आन्मनिर्भर बनाउने योजनाका साथ चुनावमा भाग लिइरहँदा आफूलाई जिताउँदा देशको संस्कृति रक्षार्थ र आर्थिक विकासको  ढोका खुल्ने उनले बताए।

५ बर्षका लागि जनप्रतिनीधि छान्ने यो महत्वपूर्ण बेला भोट नबेच्न समेत उनको आग्रह छ।  मंसिर ४ मा चुनाव चिन्ह शंख मा नै अमूल्य दान ‘मतदान’ गर्न नेपालले सबैलाई अपील गरेका छन्।


प्रतिक्रिया दिनुहोस्