गोवद्र्धन, बलि, गोरु र हलि पूजा गरियो

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : १८


काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बलि, गोरु, हलि एवम् कृषकको पूजाआजा गरी मनाइएको छ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानेर पूजा गर्ने गरिएको छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।

कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा देवमणि भट्टराईले बताउनुभयो।

भगवान् विष्णुको आज्ञाअनुसार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मत्र्यलोकको शासन गर्ने अधिकार बलिराजाले पाएको पौराणिक मान्यता छ।

दानमा कहलिएका राजा बलिले नै भलो होस् भनेर भैलो र देउ शिर रे भनी देउसी खेल्ने परम्पराको सुरुवात् गरेको विश्वास छ। यसै आधारमा आज बलिको पनि पूजा आराधना गरिएको छ।

प्राचीनकालदेखि नै गोरुले कृषिकर्मका लागि खेत, बारी जोतेर महत्वपूर्ण योगदान गर्दै आएको छ। महादेवको वाहनको रुपसमेतमा पूजिने गोरु (साँढे)लाई आज पूजा गरी मीठा मीठा खानेकुरा दिए वर्षभर खुसी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ। यसैगरी गोरु जोत्ने हलिलाई पनि आज घरमा बोलाएर टीका दक्षिणासहित मीठा कुरा खान दिइन्छ। यसैले आजको दिनलाई हली तिहारसमेत भनिन्छ।

वर्षभर कृषि कर्म गर्ने कृषकलाई पनि आज पूजा गरी मीठा मीठा खानेकुरा खान दिइएको छ। तिहारमा काग, कुकुर, गाई, गोरु, हलि, कृषकलाई पूजा गर्नुले कामका आधारमा कसैलाई भेदभाव नगरी सबैको महत्व रहेको सांस्कृतिकरुपमा अर्थ दिने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ। रासस


प्रतिक्रिया दिनुहोस्