जर्मनीका राष्ट्रपति रुसले आक्रमण गरिरहेको युक्रेन भ्रमणमा

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ७ : ३५


काठमाडौं। पश्चिमा राष्ट्रले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका बेला जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा आउनुभएको छ।

युक्रेन युद्ध समाप्त भएपछि गरिने पुनर्निर्माणको बृहत् योजनाका बारेमा पश्चिमा मुलुकबीच विचारविमर्श भइरहेको
छ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरको यो पहिलो युक्रेन भ्रमण हो । युक्रेनीहरूमा एकताको सन्देश प्रवाह गर्न आफू किएभ आएको उहाँले बताउनुभएको छ। क्षेप्यास्त्र र रकेट आक्रमणका बेला भएको आफ्नो भ्रमणलाई महत्वपूर्ण भएको टिप्पणी गर्नुभएको छ।

क्रेमलिनको सेनाले गरेको आठ महिनाको निरन्तरको दमनले आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाल ध्वस्त भएका छन्। विश्व ब्याङ्कले युक्रेनमा हालसम्म तीन खर्ब ४५ अर्ब डलर क्षति भएको अनुमान गरेको छ।

गत जेठमा पोल्याण्ड तथा बाल्टिक क्षेत्रका आफ्ना समकक्षीसँग युक्रेन भ्रमणको योजनामा उहाँ हुनुहुन्थ्यो । त्यसबेला उहाँमाथि रूसको समर्थन गरेको आरोप लागेको थियो।


प्रतिक्रिया दिनुहोस्