ओलीले जिते देश बर्बाद हुन्छ, गठबन्धनलाई जिताउनुस्: प्रधानमन्त्री देउवा

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ३६


प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि सत्ता गठबन्धनका उम्मेदवारले चुनाव जित्नु आवश्यक रहेको बताएका छन।

आज गठबन्धनले आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलालाई धनगढीमा सम्बोधन गर्दै उनले देशमा दुईवटा गठबन्धन रहेको र आन्दोलनका उपलब्धि जोगाउन परिवर्तनकारी शक्तिहरुले चुनाव जित्नुपर्नेमा जोड दिए।

एमाले–राप्रपा गठबन्धन पश्चगामी भएकाले उनीहरुले जिते देश अस्थिरताको भुमरीमा फस्ने र अहिलेका उपलब्धि गुम्ने प्रधानमन्त्रीको दाबी छ।

संविधान मिच्ने प्रवृत्ति अहिले पनि सक्रिय रहेको उल्लेख गर्दै उनले त्यो जोखिमबाट बचाउन वाम लोकतान्त्रिक गठबन्धन बनेको बताए। गठबन्धनले हारेमा देश संकटमा पर्ने देउवाको दाबी छ।

सुदूरपश्चिमबाट सत्तारुढ गठबन्धलाई जितको सफलता मिल्ने अपेक्षा राखेको समेत प्रधानमन्त्री देउवाले बताएका छन। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेर संविधानलाई समाप्त पार्न खोज्दा सुदूरपश्चिमबाटै सबैभन्दा बढी विरोध भएको बताएका उनले ४ मंसिरपछि सुदूरपश्चिमेलीले ओलीलाई पाखा लगाउने ठोकुवा गरे।

‘सत्तारुढ गठबन्धनले जितेमा देश सुरक्षित बन्नेछ र लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा हुनेछ, तर ओलीको नेतृत्वले जिते सबै उपलब्धि गुम्नेछन्, देशलाई कता लैजाने भन्ने बारेमा मतदाताले सोच्नु पर्दछ,’ प्रधानमन्त्री देउवाको भनाइ छ।

उक्त चुनावी प्रशिक्षण भेलालाई गठबन्धनका दुई नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गरेका छन।

प्रधानमन्त्रीले जस्तै उनीहरुले पनि गठबन्धनको आवश्यकता र औचित्यमाथि प्रष्ट पार्दै आफूहरुलाई चुनाव जिताउन गठबन्धन दलका नेता–कार्यकर्तालाई आह्वान गरे।


प्रतिक्रिया दिनुहोस्