काग तिहारको दिन रत्नपार्कमा ‘काग सम्मेलन’

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : २६


यमपञ्चकको पहिलो दिन आज काग तिहारको अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएको छ ।

ग्रीन सिटीअस्पताल बसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा आज बिहान १९औँ काग सम्मेलन गरिएको हो । काग सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने ईलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गरेका हुन।

विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आउनुभएका दुलालले यसवर्ष पनि काग बोलाएर सम्मेलन गरेका हुन।

“कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ, कागलाई बोलाउँदा मलाई आपत पर्र्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्”, उनले भने।

काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ।

कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ । काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। रासस


प्रतिक्रिया दिनुहोस्