चुनाव चिन्ह निर्जिव आकृति मात्र हो, गठबन्धनको मर्म बुझौँः बलदेव

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  २ : ४१


काठमाण्डौँ । आगामी मंसिर चार गते हुने प्रतिनिधि तथा प्रदेश सभा चुनावमा कपिलवस्तु क्षेत्र नम्बर १ (प्रतिनिधि सभातर्फ) का उम्मेदवार चक्रपाणी खनाल (बलदेव) ले हिजो गिरिजा प्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर माओवादीबाट ठुलो भुल भएको बताएका छन् ।
अर्घाखाँची कपिलवस्तु सम्पर्क समाज समितीले बुधबार बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै बलदेवले तत्कालिन काँग्रेस सभापति गिरिजाबाबुलाई राष्ट्रपति नबनाउँदा भएको ठुलो भुलले अहिले पछुताउनु परिरहेको बताएका हुन् । नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वमन्त्रीसमेत रहेका बलदेवले त्यो घटनाबाट माओवादीले ठुलो पाठ सिकेको भन्दै अब माओवादीले यस्तो गल्ती नदोहोर्याउने दावी गरे ।

आजको चुनावी गठबन्धनले मात्र माओवादी र काँग्रेसको सहकार्य नदेखाउने भन्दै दुई पार्टीबीच जनयुद्धकालदेखि नै सुमधुर सम्बन्ध रहेको नेता कार्यकर्ताबीच बलदेवले सुनाए । जनयुद्धपछि माओवादी शान्ति धारमा आएपछि गिरिजाबाबु र हाम्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति प्रकृयामा हस्ताक्षर गरेको भन्दै वलदेवले भने ‘अब शान्ति प्रकृयाका बाँकी कामलाई टुङ्गोमा लगाउने काम प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा र प्रचण्डको काँधमा छ । यो गठबन्धनको मर्म पनि त्यही हो । यो भयो भने मुलुकको विकास पनि हुन्छ । गठबन्धन चुनावसम्मको लागि मात्र नरहेर मुलुकलाई विकास गर्ने, संविधानविरोधी ओलीजस्ता तानशाहलाई तह लगाउनको लागि पनि हो । एकजुट भएर चुनावमा होमिन सबै नेता कार्यकर्तालाई आग्रह गर्दछु ।’

‘चुनाव चिन्ह निर्जिव आकृति मात्र भएकाले काँग्रेसले हसिया हथौडामा, माओवादीले रुखमा, राष्ट्रिय जनमोर्चाले कलममा र नेकपा एसले कलम या हसिया हथौडा अर्थात् वाम लोकतान्त्रिक गठबन्धनको भागमा जुन चिन्ह परेको छ । त्यसैमा मत खसाल्नु पर्दछ वलदेवले नेता कार्यकर्तालाई सम्झाउँदै भने ‘चिन्हलाई लिएर विवाद गर्दा प्रतिगामीले फाइदा लिन सक्छन् ।’

लोकतन्त्रको जननी नेपाली काँग्रेस भएको र लोकतन्त्र संकटमा पर्दा माओवादीले जोगाएको उनको दावी छ । यस हिसाबले पनि माओवादी र काँग्रेसबीच अन्योन्याश्रित सम्बन्ध छ । अब जुन चिन्हमा मत खसाले पसिन त्यो संविधानको रक्षा, मुलुकको सवृद्धि, स्थायित्व र विकासको लागि हुने छ । अब गठबन्धनले जित्नुको विकल्प छैन । सत्ता गठबन्धनका उम्मेद्धारले जुनसुकै पार्टीको चुनाव चिन्ह लिएको भए पनि चिनेर मतदान गर्न सबै लागौँ । यो कुरा गाउँगाउँसम्म पुर्याऔँ, उनले भने ।

७४ सालको चुनाव जितेपछि आफूले केही कुरामा गल्ती स्विकार गरेको बताउँदै खनालले अब यस्तो गल्ती नहुने बताए । कृषि र पशुपंक्षीको सबालमा राम्रो काम हुँदा हुँदै तत्कालिन प्रधानमन्त्री केपी शर्माले अवरोध गरेपछि देशवासीलाई नतिजा दिन नसकिएको उनले बताए ।उनले भने ‘अब हिजोको गल्ती दोहोरिन्न । ढुक्क भएर मत हाल्नुहोस् । बलदेवलाई किन मत खसालेछु भनेर पछुतो हुन दिने छैन ।’

कार्यक्रममा काँग्रेस नेता अतहर कमाललले कपिलवस्तुमा गठबन्धन एक ढिक्का भएको बताए । सुरुमा काँग्रेसभित्र केही मत भए पनि अहिले आएर ती सबै मत्थर भएको र बाँकी रहेका केही असहमति तिहारअघि मिल्ने पनि उनले दावी गरे ।
सत्ता गठबन्धनबाट अर्घाखाँचीमा प्रतिनिधि सभा उम्मेदवार बनेकी पुष्पा भुसालको आतिथ्यमा सम्पन्न कार्यक्रममा क्षेत्र नम्बर १ ‘क’ का उम्मेदवार डोलकराम घिमिरे लगायतका संयुक्त लोकतान्त्रिक गठबन्धनका अरु उमेद्धवारहहरु, अर्घाखाँचीबाट बसाईसराई गरी कपिलवस्तु आएका नागरिकहरुको उपस्थित थियो ।


प्रतिक्रिया दिनुहोस्