पौडीमा आर्मीका नासीर र दुवानाको कीर्तिमान

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ९ : ५०


पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आज सम्पन्न पौडीमा आर्मीका नासीर हुसेन र दुवाना लामाले कीर्तिमान कायम गरेका छन्।

नासीरले दुई सय मिटरको फ्रीस्टाइल र दुई सय मिटरको व्यक्तिगत मिड्लेमा दुई र दुवानाले ५० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।

नासीरले दुई सय मिटर फ्रीस्टाइलमा आफ्नै नाममा रहेको एक मिनेट ५८ दशमलव ३० सेकेन्डको समयमा सुधार गर्दै एक मिनेट ५५ दशमलव ३९ सेकेन्ड र व्यक्तिगत मिड्लेमा दुई मिनेट ११ दशमलव ५८ सेकेन्डको समयमा सुधार गर्दै दुई मिनेट ११ दशमलव २३ सेकेन्डको समयमा पार गर्दै दुई राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।

त्यस्तै दुई सय मिटर फ्रीस्टाइलमा आर्मीका अलेक्जेन्डर शाहले रजत र बागमतीका इरभिन श्रेष्ठले कास्य पदक जितेका छन् । व्यक्तिगत मिड्लेतर्फ एनआरएनका आशिष सापकोटा र बागमतीका सेरेन सिंहले रजत र कास्य पदक जितेका छन्।

पचास मिटर ब्रेस्टस्टोकमा दुवानाले ३५ दशमलव २३ सेकेन्डको नयाँ कीर्तिमान कायम राखेकी छन् । एपीएफकी रोयल प्रजापतिले रजत र आर्मीकी उपास्ती महर्जनले कास्य जितेका छन्। महिलाको आठ सय मिटर फ्रीस्टाइलमा एनआरएनका एश्ले सापकोटा डङ्गोलले १० मिनेट ३० दशमलव ६४ सेकेन्ड समयमा पार गर्दै स्वर्ण जितेकी छन्।

पुलिसका आर्या महर्जनले रजत र समिराशोभा थापामगरले कास्य पदक जितेका छन्।

५० मिटर ब्रेस्टस्टोकको पुरुषतर्फ प्रदेश १ का विकास कुमालले स्वर्ण जित्नु भएको छ। बागमतीका सेरेन सिंहले रजत र पुलिसका दिपङ्कर अवालले कास्य पदक जितेका छन्।

महिलाको दुई सय मिटर फ्रीस्टाइलमा दुवानाले दुई मिनेट १४ दशमलव ४६ सेकेन्डमा साथ स्वर्ण जित्दा पुलिसका आर्या महर्जन र समिरा शोभा थापाले रजत र कास्य जितेका छन्।

महिला एक सय मिटर ब्याकस्ट्रोकमा आर्मीकी गौरिका सिंहले स्वर्ण जितेकी छन्। उनले उक्त दूरी एक मिनेट ५ दशमलव ५० सेकेन्डमा पार गरेकी हुन्। एनआरएनकी एश्ले सापकोटा डङ्गोलले रजत र आर्मीकी अनुसिया तण्डुकारले रजत जितेका छन्।

त्यस्तै पुरुषतर्फका एपीएफका तेञ्जिननामदोल रायन गुरुङले स्वर्ण जिते भने प्रदेश १ का प्रारम्भ भण्डारी र एपीएफका जाडेन श्रेष्ठले रजत र कास्य जितेका छन्।


प्रतिक्रिया दिनुहोस्