सुशान्त सिंह राजपूतकी अभिनेत्री साथी घरमै मृत फेला

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ६ : ०४


भारतीय टिभी अभिनेत्री वैशाली ठक्कर घरमै मृत फेला परेकी छन्।

मध्यप्रदेश स्थित इन्दोर जिल्लामा उनी आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको भारतीय मिडियाले जनाएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। हालसम्म उनको निधनको कारण प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ।

ठक्करले आफ्नो फिल्मी करियर स्टार प्लसको सिरियल ‘ये रिश्ता क्या कहलाता है’ बाट सुरु गरेकी थिइन्।

उनले सो सिरियलमा संजनाको भूमिका निभाएकी थिइन्, जसका कारण उनी निकै चर्चित थिइन्। यसपछि उनले कैयन टिभी सिरियलमा अभिनय गरेकी छन्। र थुप्रै अवार्डबाट पुरस्कृत पनि भइन्।

ठक्करको यसअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपूतसँग राम्रो सम्बन्ध थियो। सुशान्तसिंहको मृत्युबारे उनले आवाज उठाएकी थिइन्।

सुशान्त सिंहको आत्महत्या नभई हत्या भएको उनको दाबी थियो। वैशालीले रिया चक्रवर्तीकै कारण सुशान्तको मृत्यु भएको दाबी समेत गरेकी थिइन्।

सुशान्त सिंहको आत्महत्याबारे आवाज उठाउँने बैशाली आज भने आफैले डरलाग्दो कदम चालेर संसारबाट बिदा भएकी छन्।

रिपोर्ट अनुसार वैशालीले गत वर्ष अप्रिल महिनामा इन्गेजमेन्ट गरेकी थिइन्। उनले आफ्नो इन्गेजमेन्ट समारोहको भिडियो समेत सामाजिक सञ्जालमा शेयर गर्दै फ्यानहरुलाई खुसीको खबर दिएकी थिइन्।

उनको इन्गेजमेन्टमा परिवार र आफन्तहरुको उपस्थितिमा थियो। तर, इन्गेजमेन्ट भएको एक महिनापछि वैशालीले इन्गेजमेन्ट रद्द गर्दै मंगेतरसँग बिहे नगर्ने बताएकी थिइन्। विवाह रद्द गरेपछि वैशालीले आफ्नो इन्गेज्मेन्ट समारोहको भिडियो पनि समाजिक सञ्जालबाट डिलिट गरेकी थिइन्। वैशालीले किन आत्महत्या गरिन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्