गठबन्धनमा एकता छैन भनेर एमाले खेल्न खोजिरहेको छः अतहर कमाल

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १० : १२


चन्द्रकान्त न्यौपाने

काठमाण्डौँ । नेपाली काँग्रेसका नेता अतहर कमाल (मुसलमान) ले कपिलवस्तुको गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । टिकटको विषयलाई लिएर केही झिना मसिना कुराहरु सुरुमा आएको भए पनि अहिले भने सबै ठिकठाक भएको उनले बताए । आसन्न मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरी वाणगंगाको चार नम्बरमा खोलिएको सम्पर्क कार्यालय (प्रतिनिधि तथा प्रदेश सभानिर्वाचन क्षेत्र नम्बर १) को उद्घाटनको क्रममा बोल्दै कमालले अहिले नेपाली काँग्रेस र अरु गठबन्धन घटकमा समस्या नरहेको बताए ।

हाल कपिलवस्तु गठबन्धनको चुनावी कमाण्डरसमेत रहेका कांग्रेसको पूर्व केन्द्रीय सदस्य कमालले कसको जित र कसको हार भन्दा पनि यसपटक गठबन्धनले जित्नु पर्ने भन्दै स-साना कुरालाई लिएर कुनै नेता कार्यकर्ताले मन दुखाउन आवश्यक नरहेको बताए । चुनाव मिति नजिकै आइरहेकोले अब ढिलाई गर्न नहुने उनको भनाई छ ।

उनले भने ‘हामीभित्रका स-साना कुराका विवाद पनि विपक्षीको लागि खेल्ने ठाउँ हुन्छ । यही कुरालाई लिएर एमाले खेल्न सुरु गरेको छ । अब हामी एकजुट छौँ भन्ने सन्देश दिन जरुरी छ । म धेरै ठाउँमा डुल्ने, घुम्ने गरेको छु । एमालेहरु आत्तिसकेका छन् । गठबन्धनको मत मात्र पनि बचाउन सके हामी चुनाव जित्छौँ । त्यही अनुसार लाग्न आग्रह गर्दछु । काँग्रेस, माओवादी, समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता यस कुरामा स्पष्ट र सजग हुनुपर्दछ ।’

उनले मनोनयनअघिको अवस्था र अहिलेको अवस्था निकै फरक रहेको बताए । ‘असोज २३ गतेसम्म एमाले निकै खेलिरहेको थियो । तर एकै हप्तामा धेरै कुरा ठिक भयो । दक्षिणतिर निकै राम्रो वातावरण छ । केही विग्रेको छैन । अबको एक महिनासम्म बाँकी रहेका गठबन्धनका सबै समस्या समाधान हुन्छन् । नेता कार्यकर्तामा कुनै निरासापन आउन भएन । एक ढिक्का भएर लागौँ, चुनाव सजिलै जितिन्छ’,उनले भने ।

उनले जेजति विमती छन् ती सबैलाई थाती राखी मंसिर चारपछि नेतृत्वसमक्ष राखिने बताए । अहिले देशभर गठबन्धनले जितेको खण्डमा भोलि प्रदेशदेखि संघसम्मको सरकार आफूहरुको रहने र त्यहाँ धेरै असन्तुष्टि सम्बेधन गर्न सकिने उनले बताए । कपिलवस्तुमा सबै क्षेत्र गठबन्धनले जित्ने दावी गर्दै काँग्रेसमा विवाद झिक्न खोज्नेहरु आफै सकिने कमालले दावी गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चक्रपाणी खनाल बलदेव, प्रदेश सभा सदस्य पदका उम्मेदवार डोलकराम घिमिरे, गठबन्धनका मुख्यमुख्य नेताहरुको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्