रुसको सैन्य तालिम केन्द्रमा हतियारधारीको आक्रमण, ११ जनाको मृत्यु

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ३८


एजेन्सी । शनिबार रुसको एक सैन्य तालिम केन्द्रमा हतियारधारी समूहले गरेको आक्रमणमा परी ११ जनाको मृत्यु भएको छ।

आगलागी नियन्त्रणको अभ्यास गरिरहेको समयमा दुईजनाले गोली चलाउन सुरु गरेका थिए। रुसी सञ्चारमाध्यमहरुका अनुसार अभ्यासमा संलग्न रहेका सैनिक युक्रेनसँगको लडाइँमा पनि खटिएका थिए।

रुसको रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत मुलुकका नागरिक रहेको बताएको छ।

यद्यपि उसले यस विषयमा थप जानकारी भने दिएको छैन। उनीहरु पनि युक्रेनसँग सीमा जोडिएको बेलगोरोड क्षेत्रमा मारिएको मन्त्रालयले बताएको छ। यो घटनामा परी थप १५ जना मानिसहरु घाइते भएका छन्।

गत महिना रुसले तीन लाख जगेडा सैनिकलाई युद्धमा खटाउने निर्णय गरेको थियो। जसको कारण रुसमा विरोध प्रदर्शन सुरु भएको थियो भने धेरैले मुलुक छाडेर जाने निर्णय गरेका थिए।


प्रतिक्रिया दिनुहोस्