सर्मिलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने!

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : ४२


काठमाडौं। काठमाडौं महानगरले पछिल्लो समय अवैध रुपमा निर्माण भएका संरचनाहरु भत्काइरहेको छ। यस क्रममा महानगरले सरकारी जग्गामा बनेका संरचना पनि भत्काउन थालेको छ।

महानगरले फुटपाथ खालि गर्न थालेको छ भने अन्डरग्राउन्ड पार्किङ खोल्न थालेको छ।

यस क्रममा यतिबेला महानगरका मेयर बालेन शाहको निर्देशनमा आएका महागर प्रहरीले ठेलागाडामाथि डोजर चलाएका छन्।

सामाजिक संजालमा भाइरल दृश्य काठमाडौंको थापाथलीस्थित प्रसुतीगृह अगाडिको हो। भिडियोमा एक महिला ठेलागाडा समातेर बिलौना गर्दै गरेको देखिन्छन्। उनी हुन शर्मिला तामाङ।

लमजुङ घर भएकी शर्मिलालाई उनको दुःख देखेर विदेशमा बस्ने एकजना शुभचिन्तकले ठेलागाडा किन्ने पैसा पठाइदिएकी थिइन्। त्यही पैसाले किनेको ठेलागाडामा सामान राखेर उनले प्रसूति गृह अगाडि व्यापार गर्थिन्।

४ जना नाबालिक ससाना बालबच्चा सहितकी विपन्न शर्मिलाले ठेलागाडामा सामान बेचेर जिविका चलाउदै आएकी थिइन्। तर, महानगर प्रहरीले अमानवीय र असंवैदनशील बन्दै बिना अल्टिमेटम आफ्ना सामान फुटाएर गएको, डोजर चलाएको भन्दै उनले बिलौना गरिरहेको भिडियोमा देख्न सकिन्छ।

यसबीचमा धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईले आफूले शर्मिलालाई आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन्।

हर्क भन्छन्,‘ यी बैनी को हुन् ? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !’

हर्कले सुरुदेखि नै गरिब दिनदुखीको गरिखाने बाटो बन्द गरिनुहुन्न भनेर बालेनको आलोचना गर्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस्