पिपुल्स हाइड्रोपावरको शेयर दोस्रो बजारमा सूचीकृत, आइतवारदेखि कारोबारमा आउने

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ४ : २९


काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले ६३ लाख २६ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको छ । कम्पनीले बिहीवार संस्थापक तर्फको ३२ लाख २६ हजार कित्ता, आयोजना प्रभावित स्थानीयको ६ लाख ३२ हजार ६०० कित्ता र सामूहिक लगानीकोष र कर्मचारी सहित सर्वसाधारणमा वितरण गरेको २४ लाख ६७ हजार ४०० कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

सूचीकृत भएको दोस्रो कारोबारदिनदेखि कारोबार योग्य हुने यो शेयरका लागि नेप्सेले खुला मूल्य तोकिदिएको छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ९४ दशमलव ९६ देखि अधिकतम रू. २८४ दशमलव ८८ सम्मको मूल्य रेञ्ज तोकिदिएको हो । नेप्सेले तोकेको मूल्यरेञ्जको आधारमा आइतवार स्पेशल प्रि ओनिङ्ग सेसनमा कारोबार भए मात्र नियमित सेसनको कारोबार सुरु हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. १ र ४ मा पुवा खोलाको पानीबाट ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणका लागि कम्पनीको हालको अनुमानित लागत ९५ करोड ६ लाख रूपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड १६ लाख रूपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्