वाणगंगाको नेतृत्वलाई सुझावः यस्तै हो भने धेरैले टेर्ने छैनन् !

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ७ : २६


चन्द्रकान्त न्यौपाने ।

काठमाण्डौँ
२०७९ ६ । ९ मा वाणगंगा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा र नगर मातहतभित्र रहेका सामुदायिक तथा नीजि विद्यालयका प्रधानाध्यापक बैठक बसी दशैँ तथा तिहारको विदा एकमुस्ट गर्ने निर्णय गरे । जसमा दशैँदेखि दिपावलीसम्म विदा गर्ने भनेर उल्लेख गरिएको छ । यो बिचमा नगरपालिकाको निर्णयविपरित केही संस्थागत विद्यालय संचालनमा आए । त्यसपछि नगरपालिकाको शिक्षा शाखाले प्रमुख खिम बहादुर जिसीको हस्ताक्षरसहित संस्थागत विद्यालयको नाममा अर्को विज्ञप्ती जारी गर्यो ।

त्यसमा उल्लेख गरिएको थियो शैक्षिक सत्रको क्यालेण्डर अनुसार भएको दशैँ तथा दीपावली बीचको विद्यालय बन्द गर्ने गरी भएको निर्णयलाई केही संस्थागत विद्यालयले अवज्ञा गरी ६ । २४ गतेदेखि संचालन गरेको पाइएकाले उक्त विद्यालयलाई कानुनबमोजिम कारबाही (नगरबाट दिइने सेवा, इमिस बन्द, परीक्षामा सामेल तथा अनुमति रोक्का जस्ता प्रकृया ) अगाडी बढाइने ब्यहोरा जानकारी गराइन्छ ।

शैक्षिक संस्थामाथि कारबाही गर्ने धम्कीपूर्ण भाषासहित यो निर्णयको प्रतिलिपी सार्वजनिक भए लगत्तै नगन्य मात्रामा समर्थनमा विचार आए पनि यसको चौतर्फी विरोध भयो । नगरपालिका भित्र मात्र नभएर बाहिर पनि विद्यालय बन्द गर्न दिइएको आदेश पत्रले चर्चा पायो । मेयरका प्रतिद्वन्दी रवि आचार्यदेखि शिक्षासंग सरोकार राख्ने सबैले नगरपालिकाले गलत गरेको भनेर टिप्पणी गरे । धेरैले नगरले अरु जन विकासका काम गर्न नसकेर फेरि कोरोना आएको हो कि भनेर पनि खिसीट्युरी गरे ।

सामाजिक संजालमा पनि त्यो पत्र भाइरल भयो । त्यसपछि नगरपालिकाले ४८ घण्टाभित्रै ७९ । ६ । २६ गते ध्यानाकर्षण पत्र निकाल्न बाध्य भयो । नगरपालिकाको निर्णयविरुद्ध सबै खनिएपछि नगरप्रमुख चक्रपाणी अर्यालले नीजि र सामुदायिक विद्यालयका प्रध्यानाध्यापक प्रअ तथा प्रतिनिधि, शिक्षण पेशागत घटकका पदाधिकारी, प्याबसन तथा पत्रकारलाई कार्यकक्षमा डाकेर छलफल गरे ।
विद्यालय सञ्चालन सम्बन्धमा वाणगंगा नगरपालिकाले जारी गरेको पत्रका बारेमा आएका नकारात्मक टिकाटिप्पणी भएको, सोही सम्बन्धमा विभिन्न सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी, अतिरञ्जित भ्रम फैलाउने गरी आएको विषयमा अनावश्यक टिका टिप्पणी, भ्रम फैलाउने जस्ता कार्य नगर्न नगराउन अनुरोध गर्दै ध्यानाकर्षण पत्र जारी गर्यो । यसमा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको हस्ताक्षर छ ।

सजिलै समाधान हुने समस्यामा कुटनैतिक समाधान गर्न नजानेको, संवाद र छलफलबाट समाधान हुने विषयमा नगरपालिकाले धम्कीपूर्ण पत्र काटेको भन्दै कच्चा काम गरेको भनी आलोचना गरिरहेका छन् । विवाद मत्थर भने भएको छैन । खुलेका कतिपय विद्यालयले २७ गतेबाट विद्यालय बन्द गर्ने जनाएका छन् भने कतिपयले बन्द नगर्ने चेतावनी दिएका छन् । नगरको निर्णय नमान्ने विद्यालयलाई अब नगरले कारबाही गर्ला या ? यो विवाद अब कसरी समाधान होला हेर्न बाँकी छ ।

किन यस्तो भयो त ?

धेरैले यो दशैँको मात्र विषय नभएर धेरै पहिलेदेखि नगर र विद्यालयबीच रहेको किचलोको जड रहेको बताउँछन् । हुन पनि नगरपालिका र मातहतका शिक्षणसंस्थाबीच आज मात्र नभएर हिजो देखि नै विवाद रहँदै आएको छ । वाणगंगाले कतिपय आफूले बनाउनु पर्ने शैक्षिक कानुन नबनाएर विज्ञप्तीको भरमा चलाइरहेको छ । जसका कारण नगरको निर्णय मान्न कोही बाध्य छैनन् ।

नगरको शैक्षिक गुणस्तर कायम र नगरका विद्यालयबीच एकरुपता कायम गर्ने सम्बन्धमा ठोस निर्णय गर्न असमर्थ बाणगंगाले धेरैपटक आफैले गरेको निर्णय कार्यान्वयन गर्न समेत सकेको छैन । कोरोना कालमा पनि नगरपालिका र शिक्षणसंस्थाबीच अस्पष्टता कायम हुँदा ठुलै विवाद भयो । त्यही विवाद र अस्पष्टताको कारण केही विद्यालय संचालक पक्राउ सम्म पर्नु परेको थियो भने विद्यालय संचालकहरु नगरपालिकामा धर्ना बस्ने स्थितिमा पुगेका थिए ।

कोरोनाको दोश्रो भेरियन्ट फैलिएको बेला प्रशासन र नगरपालिकाको निर्णयविपरित विद्यालय संचालन गरिएको भनेर इलाका प्रहरी कार्यालय पिपराले विद्यालय संचालकलाई पक्राउ गरी स्पष्टिकरण सोध्ने, मुद्धा हाल्नेसम्म प्रकृयामा थियो । तत्कालिन समयका नगर प्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्र अर्याल र शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले पाको ढंगले काम गर्न नसकेको विद्यालय संचालकले आरोप लगाएका थिए । यस्तो आरोप लगाउनेमा संस्थागत र सामुदायिक विद्यालयकै प्रधानाध्यापक र प्रतिनिधि थिए ।
त्यतिखेर सामुदायिक र संस्थागत विद्यालयका संचालकले नगरपालिकाको निर्णयलाई हवला दिने, अटेरी गर्ने गरेका थिए भने यसपटक संस्थागत विद्यालयका संचालकले नगरपालिकाले गरेको निर्णयलाई मानेनन् । जसका कारण विवाद बढेको छ । यसको मारमा भने अभिभावक र विद्यार्थी पर्ने गरेका छन् ।

२०७९ सालको निर्वाचनपछि नगर प्रमुखमा चक्रापाणी अर्याल आएपछि वाणगंगाको शिक्षाको गुणस्तर सुधार र एकरुपता कायमका विषयमा केही ठोस काम हुन्छ कि भन्ने आशा गरेका थिए प्रअ तथा विद्यालय संचालकले । तर नगरप्रमुखका दिनप्रतिदिनका क्रियाकलापलाई हेर्दा अर्यालबाट पनि केही आशा गर्न सकिने ठाउँ नभएको शिक्षकहरु बताउँछन् ।

दशैँविदाको सम्बन्धमा नगरपालिकाले संस्थागत विद्यालयका नाममा निकालेको धम्कीपूर्ण पत्र कच्चा भएको र यसमा नगर प्रमुख चक्रपाणी अर्याल् चुकेको नगरप्रमुखका प्रत्यासी रवी आचार्य बताउँछन् । कानुनी विषयका जानकार समेत रहेका उनले सामाजिक संजाल फेसबुकमा लेख्छन् ‘वाणगंगानगर पालिकाले विद्यालयलाई कार्वाही गर्छु भन्नु सरासर गलत ! पढाउने विद्यालयलाई नै कार्वाही गर्छु भन्ने मेयरसाव चक्र जी घोषणा पत्र अनुसार काम गर्नुस् र यसको जवाफ शिक्षा शाखाले दिनुपर्छ । तपाइँको प्रतिस्पर्धी भएकाले राम्रा कामको समर्थन र गलत कामको विरोध गर्नु मेरो दायित्व हो ।’

नगरपालिकाले मातहतका विद्यालयका सम्बन्धमा कानुन बनाउनु, एकरुपता ल्याउन खोज्नु राम्रो हो र यसले आफूखुसी अराजक शैक्षिक गतिविधि गर्ने विद्यालयलाई पनि तह लगाउँछ तर विद्यालयलाई नै कार्वाही गर्छु भनेर विज्ञप्ती निकाल्नु सरासर गलत रहेको अन्य सरोकारवाला बताउँछन् ।

नगरको निर्णय ठिक भएन भनेर सुझाव दिनेहरुलाई नै अतिरञ्जित भन्ने नगरपालिकाले संवाद र छलफलबाट समाधान हुने विषयलाई धम्कीपूर्ण भाषासहित विज्ञप्ती निकालेर थप अतिरञ्जना फैलाएको केही संस्थागत विद्यालय संचालकको आरोप छ ।

के भन्छन् सरोकारवाला ?

नगरपालिका हरेकपटक आफ्ना निर्णयमा चुक्दा यस्तो स्थिति सिर्जना भएको अन्य सरोकारवाला बताउँछन् । नगरपालिकाले निर्णय गरिसकेपछि कडाईका साथ कार्यान्वयन गर्न सके मात्र त्यसको पालना सबैले गर्ने उनीहरुको भनाई छ । प्याब्सन अध्यक्ष सुन्दर पाण्डे भन्छन् ‘नगरको निर्णय सबैले मान्नुपर्दछ । यदि निर्णय जसले मान्दैन उसलाई नगरले नियम अनुसार कारबाही गर्न सक्नुपर्दछ । नगरको निर्णय विपरित दशैँ तिहार विदा नमान्ने विद्यालयलाई नगरले पनि कारबाही गछौँ भनेको छ । कारबाही केके हो गर्नुपर्दछ । यदि विज्ञप्तीको लागि लेख्ने र कार्यान्वयन नहुने हो भने भोलि फेरि नगरको निर्णयलाई कसले मान्छ ? हामी कसरी मान्छौँ ? यो नगरले हेक्का राख्ने कुरा हो । होइन भने हिजोजस्तै अराजकता गतिविधि हुन्छन् ।’

‘कि नगरले कारबाही गर्छु, यो गर्छु, ऊ गर्छु भन्नु हुँदैन भनेपछि कसले गल्ती गरेको छ । पहिचान गरेर उसलाई कारबाही गर्नुपर्दछ । नगरभित्रका विद्यालय पनि आफूखुसी चल्नुहुँदैन । संचालकले नियम मान्नुपर्दछ । यो आजको कुरा मात्र होइन । दीर्घकालिन समाधानमा नगरले यसरी काम गर्नुपर्दछ’  लामोसमय शिक्षण पेशामा रहेका कृष्ण केसी सुझाउँछन् ।

अभिभावकहरु पनि समस्या के हो समाधान गरेर आफूहरुलाई अन्यौल्तामा नराख्न आग्रह गर्दछन् । वाणगंगा ४ का खिमानन्द शर्मा भन्छन् दशैँ–तिहारबीचमा कुनै विद्यालय चल्ने कुनै नचल्ने । एउटै नगरमा पनि यो दुई तरिका राम्रो भएन । नगरको निर्णय नै यो हो भने राम्रो भएन । अभिभावकमा विद्यालय–विद्यालयबीच द्धन्द्ध बढाउने स्थिति भयो ।

नियम नमान्ने विद्यालय संचालकलाई नगरपालिकाले कारबाही गर्छ ?

दशैँ–तिहार विदाबारे नगरको निणर्य नमान्ने विद्यालय संचालकको नाममा पत्र काट्दै नगरले भन्यो कानुनबमोजिम कारबाही अनुमति रोक्का जस्ता प्रकृया ) अगाडी बढाइने ब्यहोरा जानकारी गराइन्छ । के अब ती विद्यालयको अनुमति रोक्का हुन्छ ? के नियम उलंघन गर्ने विद्यालयले नगरबाट पाउने सेवा, सुविधा पाउँदैनन् या इमिस बन्द र परीक्षामा सामेल नगराउन नगरपालिका बाध्य हुन्छ ? यो विषय विवादित भनेपछि धेरैले नगरलाई यही अग्नीपथमा राखेका छन् । नगरले निर्णय नमान्ने जोकोहीमाथि कारबाही हुने बताउँछ । अभिभावक पनि यसरी आफूहरुलाई अन्यौलतामा नराख्न सुझाउँछन् । धेरै अभिभावकको प्रश्छ छ के हो यो ? नगरपालिकाको निर्णय हो कि विद्यालयको ? कुनै विद्यालय खुलेका छन् । कुनै बन्द छन् । एउटै नगरमा पनि दुईवटा नियम हुन्छ र ? यसले अभिभावकमा समेत विवाद ल्याएको छ । कुनै अभिभावक छोराछोरी विद्यालय पठाउन पाएकोमा मख्ख छन् कतिले बन्द विद्यालयका संचालकलाई गाली गर्दै छन् । नियम त एउटै बनाउनु पर्यो नि ?

शिक्षा शाखा प्रमुख जिसीमाथि प्रश्न ?

यस अघिको कार्याकालमा वाणगंगाको शिक्षा शाखा प्रमुखमा उपसचिव बाबुराम भट्टराई थिए । उनी पनि यस्ता समस्या र विवाद समाधान गर्न नसकेरै विदा भए । भट्टराईको पालामा उनीपछिको पोष्टमा अधिकृत खिम बहादुर जिसी छन् । अहिले उनै जिसीले नगरको शिक्षा, युवा तथा खेलकुद शाखा हाँकिरहेका छन् । नेतृत्व सम्हालेको धेरै नहुँदै उनीमाथि पनि बिभिन्न आरोप लाग्न थालेको मिडियामै आएको छ । पदमा बसेर बढी राजनीति गर्ने, आफ्नो मनखुसीले नियुक्ति र सुरवा बढुवा गर्ने, जभाभावि लेख्ने इत्यादि गरेका कारण जिसीबाट पनि विद्यालय संचालक खुसी नभएको विशेष श्रोत बताउँछ । दशै–तिहार बिदाको सम्बन्धमा पनि विद्यालयमाथि धम्कीपूर्ण भाषा लेख्ने काममा उनैको भूमिका भएको भन्दै आगामी दिन सच्चिन श्रोत आग्रह गर्दछ । शिक्षा शाखामा शाखागत काम भन्दा पनि अरु कुरा धेरै हुने गरेको कतिपय बताउँछन् ।

समाधान के त ?

वाणगंगाको विषयमा पछिल्लो समय जे जति कुरा आएका छन् ती ठुला कुरा र समस्या होइनन् । तर आपसी सामञ्जस्यता, संवाद, छलफल र सहकार्यको अभावमा यस्तो नियति बाणगंगाको नेतृत्वले भोगिरहेको छ । विशेष श्रोतका अनुसार नेतृत्वमा ठोस निर्णय क्षमताको अभाव र घमण्डपन, अरुको कुरा नसुन्ने प्रवृत्ति, बाहिरी दबाब–प्रभाव, नाताबाद–कृपाबाद, चाकडी प्रथाले पनि सानादेखि ठुला कुरा गर्दा बाणगंगामा प्रश्न आउँछ । विद्यालयको दशैँतिहार विदाबारे उत्पन्न विवादमा पनि यिनैमध्ये कुनै एउटा कारण छ ।
अघिल्लो कार्यकालमा पनि नगरको बार्षिक क्यालेण्डर अनुसार मातहतका विद्यालय चल्नु पर्छ भन्ने कुरा जोडतोडका साथ उठ्यो । तर त्यसको कार्यान्वयन हुन सकेन । अरु बेला सुत्ने र समस्या र विवाद आउँदा नियम काननु लाद्न खोज्ने नेतृत्वका कारण पनि वाणगंगाले यस्ता समस्या झेल्दै आइरहेको छ ।

शिक्षा क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा पनि यो समस्या वाणगंगाले रोगको रुपमा पालेको छ । जानकारहरु भन्छन् ‘आगामी दिनमा कम्तिमा पनि नगरले आफूले गरेको निर्णय कार्यान्वयनमा कडाई गर्नुपर्दछ । नगरका निर्णय फितलो हुनु हुन्न । नगरको निर्णय नमान्नेमाथि कानुनअनुसार कारबाही हुनुपर्दछ जसरी काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह कानुनको धज्जी उडाउनेमाथि कठोर भएर लागेका छन् । अर्कोतर्फ नगरका हरेक नियम कानुन आम नागरिक, विद्यालय, संघ–संस्थाले पनि मान्नु पर्दछ ।’

यसो हुन सकेको खण्डमा शिक्षामा मात्र होइन अन्य कुरामा पनि बाणगंगाले विकास गर्ने सरोकारवाला बताउँछन् । उनीहरुले मेयर अर्याललाई घोषणा पत्र अनुसार काम गर्न सुझाएका छन् ।

नगरप्रमुख अर्याल राजनैतिक रुपमा पाका भए पनि नगरबासीको विकासको चाहाना पुरा गर्ने, शिक्षा, स्वास्थ्य र विकास गर्ने निर्णय गर्नमा अदुरदर्शी र कच्चा भएको कतिपयको आरोप छ । पहिलो ५ बर्षे कार्यकाल पनि आलोचित नै भएर पार गरेको नगरपालिकाले दोश्रो कार्यकालमा ६ महिना पार गर्दासम्म पनि फोहरमैला तथा छाडा पशु चौपाएको व्यवस्थापन, चक्रपथ र वसपार्क निर्माण लगायतमा सिन्चो भाँच्न नसकेको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्