डडेल्धुरामा एमाले र कांग्रेस (बिपी)को गठबन्धन तोडियो

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : ४२


डडेल्धुरा । डडेल्धुरा नेकपा (एमाले)ले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ।

एमालेले कांग्रेस (बीपी)का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो। तर, आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन।

उनी राष्ट्रियसभाका पूर्वसदस्य हुन। एमाले डडेल्धुराले केन्द्रबाट आधिकारिकरूपमा निर्देशन नआएकाले प्रतिनिधिसभामा एकल उम्मेदवारी दिएको जनाएको छ।

उनीसँगै प्रदेशसभा (क) मा सुदूरपश्चिमका पूर्वमन्त्री पठानसिंह बोहोरा र प्रदेशसभा (ख)मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन।

यस्तै प्रतिनिधिसभामा कांग्रेस (बिपी)का वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्लले पनि उम्मेदवारी दर्ता गराएका छन।

मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति समेत हुन। नेपाली कांग्रेसको अधिवेशनका बेला क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर संस्थापन पक्षसँग विवाद भएको थियो । त्यसपछि उनी कांग्रेस (बिपी) मा प्रवेश गरेका थिए। रासस


प्रतिक्रिया दिनुहोस्