यी नेताले दिए स्वतन्त्र उम्मेदवारी

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : २७


आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन गराएका हुन्।

नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले रुपन्देही क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन।

एमालेले भुसाललाई टिकट नदिएपछि शनिबार पार्टी छाडेको घोषणा गरेका थिए। एमालेकै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौँ क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन।

पार्टीले टिकट नदिएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन। एमालेका नेता प्रभु साहले रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन।

नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले पार्टीले टिकट नदिएपछि चितवन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन।

नेता गोविन्दराज जोशीले तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन।

नेपाली कांग्रेसबाट कारबाहीमा परेका जोशी स्वतन्त्र उम्मेदवार बनेका हुन। कांग्रेसका नेता अमरेशकुमार सिंहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन।

निर्वाचनमा पार्टीले टिकट नदिएपछि कतिपय नेता पार्टी परित्याग गरी अर्को पार्टीमा लागेका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। नेताहरूले विगतमा उठेकै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

काठमाडौँमा क्षेत्र नं ३ मा कांग्रेसका पूर्व नगर सभापति श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दिएका छन।

कांग्रेसबाट असन्तुष्ट कामपा–६ का पूर्व वडाध्यक्ष दीपेन्द्र लामाले प्रदेश (क) का लागि स्वतन्त्र उम्मेदवारी दिएका छन।

प्रदेश (ख) मा महलिा सङ्घ काठमाडौँकी अध्यक्ष विष्णुदेवी पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिइन्। लेखक युग पाठकले झापा क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यो क्षेत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएको डडेलधुरामा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्