६० बर्ष पुगेका बलदेवले भने ‘६५’ बर्षपछि कुनै पनि चुनावमा उठ्दिनँ

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ५ : ४१


काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)का सचिव चक्रपाणी खनाल (बलदेव) ले आफू ६५ बर्ष पुगेपछि कुनै पनि चुनावमा नउठ्ने बताएका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा कपिलवस्तुको क्षेत्र नम्बर १ बाट चुनाव लड्न लागेका बलदेवले अहिले पनि आफूले नचाहादा नचाहँदै चुनाव लड्नु परेको बताए।

कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित रेडियो मायादेवी, रेडियो हर्टविट र वैखरी अनलाइनले संयुक्त रुपमा राखेको चाडपर्व केन्द्रित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै बलदेवले भने ‘बाबुराम भट्टराई जिले अहिलेको चुनाव नलड्ने बताउनु भएको छ । उहाँको यो निर्णयलाई म सही मान्छु । अब म पनि ६५ बर्षपछि चुनाव लड्दिन । अहिले ६० बर्षको भएँ । अहिले पनि मेरो चुनाव लड्ने चाहाना थिएन । आम कपिलवस्तुवासीको चाहाना पनि अहिले बलदेव नै उठ्नु पर्ने माग रहि आएको र सत्ता गठबन्धनका कारणले चुनावमा उठेको हुँ ।

‘२०७४ सालमा आफू कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएर धेरै विकासका काम सुरु गरेको भए पनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको अवरोधका कारण धेरै काम गर्न नपाएको र अधुरो रहेको उनको दावी छ । अबको चुनावमा गठबन्धनले जित हासिल गर्ने र त्यसमा आफ्नो पनि जित हुने उनले बताए ।

उनले कपिलवस्तुबाट अहिलेसम्म निर्वाचित भएका जनप्रतिनिधिमध्ये आफूले सबैभन्दा राम्रो काम गरेको दावी गर्दै प्रतिपक्षिले बलदेवले केही गरेन भन्ने भ्रम छर्दै हिँडेको उनले बताए ।

आफ्नो क्षेत्रमा काँग्रेसको पूर्ण साथ पाउने उनको जिकिर छ । कार्यक्रममा सो क्षेत्रका प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका चर्चामा आएका सम्भावित उम्मेदवारको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्