बिरामीको मृत्युपछि चितवन मेडिकल कलेजमा तोडफोड, १० जना पक्राउ

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ३ : ५२


चितवन । बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेजमा तोडफोड भएको छ।

आक्रोशित आफन्तहरुको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) कक्ष भित्रमै प्रवेश गरेर तोडफोड गरेका हुन् ।

तोडफोडबाट लाखौंको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भिडले आइसीयू कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको बताइएको छ।

भरतपुर–१३ का ३६ वर्षीय रमेश कुवँरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

उनलाई प्याङक्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर अस्पताल लगिएको थियो । अस्पतालले उपचार गर्न सेन्ट्रल भेन खोलेर औषधि दिएको बताएको छ । त्यसलाई आफन्तहरुले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको बताईएको छ । घटना बारे अस्पताल प्रशासनबीच छलफल चलिरहेको बेला केही समूहले अस्पतालमा तोडफोड गरेका हुन्।

तोडफोडमा संलग्न भन्दै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस्