माओवादी केन्द्रका सांसद एमाले प्रवेश

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  २ : ४८


नेकपा (माओवादी केन्द्र)का सांसद छक्कबहादुर लामा नेकपा एमाले प्रवेश गरेका छन्। लामा अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन्।

बालकोटमा अध्यक्ष ओलीले लामालाई खादा तथा अबिर लगाएर पार्टी प्रवेश गराए। लामासहित नाम्खा गाउँपालिकाका निवर्तमान अध्यक्ष विष्णुुबहादुुर लामा पनि एमाले प्रवेश गरेका छन्।

माओवादीका गाउँपालिका तथा जिल्लास्तरका केही नेता पनि एमाले प्रवेश गरेको बताइएको छ।

२०७४ को आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी लामा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।

त्यतिबेला माओवादीले टिकट नदिएपछि लामा विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए।

उनी जम्मा ७४ मतको अन्तरले विजयी भएका हुन्। २०४८ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार बनेका लामा त्यतिबेला पनि ४८ मतान्तरले विजयी भएका थिए।


प्रतिक्रिया दिनुहोस्