लहान दुर्गा मन्दिरमा पचहत्तर तोला सुनका गहना

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  २ : १७


सिरहाको लहानस्थित दुर्गा माताको मूर्तिलाई ७५ तोला सुनको गरगहना चढाइएको छ।

माता दुर्गाको मर्तिका लागि मात्र त्यत्रो परिमाणको सुनका गरगहना बनाइएको जिल्ला उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष विकास शारदाले बताउनुभयो । माताको मूर्तिको घाँटीमा लगाइने चोकर मात्र २१६.९६ ग्राम अर्थात् १८.६० तोला सुनको छ ।

त्यस्तै दुर्गा मातालाई लगाइएको ठूलो रानीहार ३० तोला र नेकलेस १० तोला, बाला १० तोला र अन्य साढे छ तोला बराबरको शिरबन्दी, नथिया, पिँजडा झुम्का रहेका छन्।

यी सबै गरगहना दुर्गा पूजा समितिका सदस्यहरूबाट प्राप्त चन्दा, मन्दिरमा आउने भक्तजनबाट प्राप्त भेटी तथा स्थानीय व्यापारीबाट संकलन गरिएको आर्थिक सहयोगबाट निर्माण गरिएको हो।

माता दुर्गाको मूर्तिबाहेक अन्य देवीदेवता र असुरहरूको मूर्तिसमेतलाई चाँदीका गरगहनाले सजाइएको हो।

देवीदेवता र असुरहरूले प्रयोग गर्ने सबै शृंगार तथा हातहतियार पाँच केजी चाँदी प्रयोग भएको हो।

मेला अवधिभर ती मूर्ति तथा गरगहनाको संरक्षण नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीबाट गरिने ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए।

गरगहनाको निगरानीका लागि मन्दिरभित्र र बाहिर विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको बताइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्