ढुङ्गेधाराको अस्तित्व जोगाउन सकिएला?

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  २ : ०७


 

ढुङ्गेधाराको अस्तित्व संकटमा

झन्डै १५ सय वर्ष पुरानो काठमाण्डौ उपत्यकामा ढुङ्गेधाराको इतिहास रहेको छ तर आज यस्ता ऐतिहासिक महत्त्वका , पोखरी, तलाउ संरक्षण को अभाब मा लोप हुने अवस्थामा पुगेका छन। विश्वका कुनै पनि ठाउँमा यस्ता ढुङ्गेधारा, हिटी  काठमाण्डौ उपत्यकामा मात्र रहेको यसका संरक्षकहरु बताउँछन् ।काठमाडौँ उपत्यकाभित्र करिब  ४०० ढुङ्गेधारा अस्तित्व मा रहेको मा हाल अधिकासं को अस्तित्व संकटमा परेको छ। खानेपानीको विकल्पका रुपमा ढुङ्गेधाराको पानीलाई सदुपयोग गर्ने र ऐतिहासिक महत्त्वका , पोखरी, तलाउ संरक्षण गर्न हाल स्थानीय तवर मा केही सकरात्म प्रयास पनि बेला बेला मा हुदै आएको छ।

यसै क्रममा ढुङ्गेधारामा परम्परागत शैलीमा पानी ल्याउने तरिका पत्ता लगाउन नसकिए पनि कृत्रिम तरिकाले पानी संकलन गरेर वितरण गर्न थालिएको छ । यस्तै भक्तपुरको सानो ठिमीमा रहेको सोह्राहिटिमा पनि ट्याङ्की राखेर ढुङ्गेधारालाई जीवन्त बनाउने कोसिश गरिएको छ । यस ढुङ्गेधारा नजिकै अहिले ट्याङ्की बनाईएको छ । त्यसमा पानी संकलन गरेर सर्वसाधरणका लागि पानी वितरण गर्ने व्यवस्था गरिएको छ । तर यसको संचालन कसरी र कसले गर्छ भन्नेमै अलमल देखिएको छ । यस ढुङ्गेधारामा पहिलेको जस्तो २४ घण्टा पानी भने आउँदैन।

यो ढुङ्गेधारामा पहिले दैनिक रुपमा पानी आउने गरेकोमा , पानी सुकेको १५ वर्ष भइसकेको स्थानीयहरु बताउँछन् । यो ढुङ्गेधाराको माथि सडक निर्माणको कार्य भइरहँदा यस ढुङ्गेधारालाई पुर्न खोजिएकोमा स्थानीयले विरोध गरेपछि , यसको संरक्षणका लागि आवाज उठ्न थालेका थिए । पानी नआएपनि ढुङ्गेधाराको अस्तित्त्व जोगाउन स्थानीयबासीहरु लागि परेका छन् । प्राकृतिक रुपमा पानी ल्याउन नसकिएपछि , गत साल कृत्रिम तरिकाले यसको नजिकै ट्याङ्की बनाई पानी वितरण गरिने भनिए पनि नियमित रुपमा संचालन हुन नसकेको सोह्राहिटि संरक्षक समितिका अध्यक्ष निरज बाडे बताउँछन् ।

यसरी सुकेका ढुङ्गेधारामा ट्याङ्की राखेर पानी बितरण कार्य काठमाडौं उपत्यकाका विभिन्न स्थानमा संरक्षण गरिएको छ । तर स्थानीयले यसको महत्त्व नबुझदा र बोरिङको पानीमै भर पर्दा , ढुङ्गेधारालाई पुनर्जीवन दिन खोजिए पनि , यो नै दिर्घकालीन उपाय नहुने संरक्षकहरुको भनाई छ । यता संरक्षणविद् तथा इतिहासकार भने यसरी ढुङ्गेधारामा कृत्रिम तरिकाले पानी ल्याइनुलाई जनताको आँखामा छारो हाल्ने काम मात्र भएको संरक्षणविद् आलोकसिद्धि तुलाधर बताउँछन्।

ढुङ्गेधाराको पानीको मूख्य स्रोत नै जमिनले सोसेर संकलन गरिएको पानी हो । शहरीकरण बढे संगै ठूला ठूला भवन तथा ढल निर्माण कार्य बढिरहँदा ढुङ्गेधाराहरु मासिएका छन् , सुकेका छन्। खुल्ला स्थानको अभाव, जमिनमा पिच, ढलान गर्ने लगाएतका कार्यले जमिनले वर्षातको पानी सोस्ने प्रणाली बिग्रिएको ढुङ्गेधारा संरक्षकहरु बताउँछन्। उनीहरुका अनुसार बोरिङको पानी प्रयोग संगै जमिनको पानीमा पनि कमि आएको छ।

सुकेका ढुङ्गेधारा पुन प्रयोग गर्न अर्थात पानी ल्याउनका लागि तीन उपायहरु रहेको संरक्षकहरु बताउँछन्।

# सकेसम्म मुहान पत्ता लगाएर प्राकृतिक स्रोतमै पानी ल्याइने

# खानेपानीको लाइन प्रयोग गरेर

# नदेखिने गरि ट्याङ्की बनाएर पानी संकलन गरि

काठमाण्डौं उपत्यकामा करिब ४०० ढुङ्गेधारा रहेको राष्ट्रिय अभिलेखालयले जनाएको छ। अहिले उपत्यकाका अधिकांस ढुंगेधारा पानी सुकेर लोप हुने अवस्थामा पुगेका छन् । ढुंगेधाराको मुहान र मुहानको पानी धारासम्म ल्याउने परम्परागत विज्ञान खोतल्ने प्रयास भइरहेको छ । ढुंगेधाराहरु हाम्रा ऐतिहासिक धरोहर हुन् । कृत्रिम तरिका अपनाएर ढुंगेधारालाई आधुनिक समय अनुरुप जनमानसको उपयोगी बनाउन सकेमा सस्ंकृति संरक्षण मात्र नभई सहरी क्षेत्रमा पानीको आवश्यकता समेत पूरा गर्न सक्छ।

ढुङ्गेधाराको अस्तित्त्व जोगाउनका लागि पानी आउन सक्ने बनाउन सकिने उदाहरण पनि देखिएका छन् जसका कारण भावी पुस्ताले पनि ढुङ्गेधारा देख्न पाउनेछन्।

 


प्रतिक्रिया दिनुहोस्