युक्रेनी क्षेत्रहरु रुसमा गाभिएसँगै युक्रेनले नेटोमा आवद्ध हुने घोषणा गर्यो, अब के होला?

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १० : ०७


काठमाडौं। रुसले युक्रेनमा जनमतसंग्रको आयोजना गरेर युक्रेनका चार क्षेत्रहरुलाई आफूमा गाभिएको घोषणा गरेको छ। शुक्रवार क्रेमलिनको सेन्ट जोर्जेज हलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चार क्षेत्र अब रुसको भएको बताएका हुन्।

पुटिनले रुसले सबै तरिकाबाट अब आफ्नो नयाँ भू–भागको बचाउ गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताएका छन्।

उनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ताको टेबुलमा फर्किन आह्वान पनि गरेका छन्।

रुस नियन्त्रित युक्रेनका डोनेट्स्क, लुह्यान्सेक, खेअरसन र ज्यापोरिज्यामा जनमतसंग्रह आयोजना गरिएको थियो। ती गाभिएका क्षेत्रमा बस्ने मानिसहरूले नै रुसमा विलय हुन राजी भएको रुसको भनाइ छ। यद्यपी ती क्षेत्रमा गरिएका जनमतसङ्ग्रह भने देखावटी भन्दै निन्दा भएको छ।

संयुक्त राष्ट्रसङ्घ, युक्रेन र उसका साझेदारहरूले ती जनमतसङ्ग्रहलाई गैरकानुनी भन्दै आलोचना गर्दै आएका छन्।

राष्ट्रसङ्घले त्यसरी अर्को देशको भूमि आफूमा गाभ्नुले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने जनाएको थियो।

उता प्रतिक्रिया स्वरूप युक्रेनले भने उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य हुनका लागि एउटा नयाँ र छिटो हुने प्रक्रियाका लागि प्रयास थालेको छ।

आफ्ना प्रधानमन्त्री र संसदका सभामुखसाथ रहेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन लामो समयदेखि उक्त सुरक्षा सङ्गठनको ‘डि फ्याक्टो’ कानुनी रूपले नबाँधिए पनि वास्तविक रूपमा सदस्य रहेको बताउँदै सिमानालाई फेरबदल गर्ने मस्कोले ‘हत्या, झुक्काउने काम, गलत व्यवहार र झुटहरू प्रयोग गरेको’ आरोप लगाए।

‘हामीले नेटोमा जोडिनका लागि युक्रेनको आवेदनलाई तीव्रता दिन निर्णायक कदमका लागि हस्ताक्षर गरेका छौँ’ किएभको केन्द्र भागमा रहेर बोलेका जेलेन्स्कीले भने।

यससँगै अब युक्रेन र रुसबीच झनै कडा युुद्ध हुने अनुमान गरिएको छ। यसअघि नेटोमा आवद्ध हुन चाहेको भन्दै रुसले युक्रेनमा आक्रमण थालेको थियो। नेटोमा आवद्ध भएको खण्डमा आफूहरु रुसको खतराबाट मुक्त हुनसक्ने युक्रेनको बुझाई छ।

यो पनिः नेटो–युक्रेन र रुस संकटबारे बुझ्नै पर्ने पाँच मुख्य कुराहरु…


प्रतिक्रिया दिनुहोस्