मोहम्मद हत्याकाण्डः सुस्मिताले मोहम्मदको निगरानी गरिन्, महोरम र रेहानले गोली हाने

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ६ : ३१


काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ।

काठमाडौं प्रहरी परिसरले हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ, रेहान मियाँ र मकवानपुरको बकैया गाउँपालिका घर भई काठमाडौंको कपन बस्ने २१ वर्षीया सुस्मिता स्याङताङ छन्।

प्रहरीका अनुसार सुस्मिताले मोहम्मदका गतिविधि निगरानी गरेको र महोरम र रेहान मियाँले गोली हानेको खुलेको छ।

असोज ३ गते सोमबार साँझ मोहम्मदकै घर अगाडिको बीच सडकमा गोली प्रहार भएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको थियो।

मोहम्मद गोठाटारमा गार्मेन्ट व्यवसाय गरिरहेका थिए। उनी २०६४ सालमा हत्या आरोपमा मोहम्मद पक्राउ परेका थिए। यस घटनामा संलग्न भएको आरोपमा उनी १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए।

घटनाको अनुसन्धानका लागि एसएसपी जनकराज भट्टराईको नेतृत्वमा एक समिति गठन गरिएको थियो। उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–१२ को ज्यानसम्बन्धी कसुरु मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्