के तपाईंले बीमा गर्नु भएको छ ? फजुल खर्च रोकौ, बीमा गरी सुरक्षित बनौ

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ९ : २५


आजै बीमा गर्नुहोस भविष्यमा पछुताउनु पर्दैन्

बीमालाई आकास्मिक रुपमा आईपर्ने दुर्घटनाको जोखिम बहन गर्ने माध्यमको रुपमा बुझिन्छ । बीमा आर्थिक सुरक्षा सबैभन्दा सजिलो र सुरक्षित उपाय पनि हो । आर्थिक बचत, सुरक्षा र भविष्यका योजनलाई केन्द्रित गरेर गर्ने गरिन्छ । जीवन बीमाले मृत्यु पछिको लागि मात्रै नभई जीवीत रहुञ्जेल पनि आर्थिक सहायता प्रदान गर्ने गर्छ ।

बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने संस्था) बीच जोखिम हस्तान्तरण गर्ने सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनिले बीमितको नोक्सानीको क्षतिपूर्ति व्योहोर्ने गर्छन् । जीवनमा अचानक आइपर्ने जोखिमको न्युनिकरण गर्न तथा भविष्यमा हुनसक्ने जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानूनी विधि वा प्रक्रियागत सम्झौतालाई बीमाको रुपमा बुझ्न सकिन्छ ।

जसरी आम मानिसले आफनो जोखिम बिमा कम्पनीलाई हस्तान्तरण गर्छन् त्यसैगरी बिमा कम्पनीले पनि आफनो जोखिम अर्को कम्पनीलाई हस्तान्तरण गरेको हुन्छ । जसलाई पुर्नबिमा मानिन्छ । यसरी बिमा कम्पनीको पनि जोखिम बहन गर्ने कम्पनीलाई र्पुनबिमा कम्पनी भनिन्छ । त्यसकारण पनि बीमालाई सुरक्षित लगानीको रुपमा लिने गरिन्छ । जीवन बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा बीमितले इच्छाएको व्यक्तिले बीमा कम्पनीबाट दाबी भुक्तानी पाउँछ । यसका बावजुदमा पनि नेपालमा धेरै मानिस बीमाको दायरामा आउन सकेका छैनन । फलस्वरुप धेरै परिवारले आर्थिक संकट भोग्नु परेको छ

बीमा गर्दा हुने फाइदा

 

आर्थिक जोखिमको हस्तान्तरण 

व्यक्तिको जीवनमा कतिखेर कस्तो अवस्थाको सामना गर्नुपर्छ त्यसको पुर्वानुमान गर्न सकिदैन । व्यक्तिको जीवनमा आईपर्ने जोखीमको आर्थिक सुरक्षण बीमाले गर्न सक्छ । कुनै घटना वा दुर्घटनाका कारण परिवारमा आइपर्ने आर्थिक संकटको सामाधान पनि बीमा हुन सक्छ ।

पुँजी निर्माण

हरेक मानिसले आफुले गर्ने आम्दानीका आधारमा योजनाहरु तय गर्ने गर्छन । ति योजनाहरु पुरा गर्नको लागि बीमा महत्वपूर्ण स्रोत हो । जीवन बीमामा निश्चित समयावधिमा रकम तिर्नु पर्ने हुन्छ, जसले आर्थिक जीवनलाई अनुशासित बनाउँछ । अर्कातर्फ यसरी तपाईको रकम पनि बचत भइरहेको हुन्छ । जब बिमा अवधि समाप्त हुन्छ त्यतिखेर यो रकम तपाईको पुँजीको रुपमा आउँछ ।

लामो समयको लागि बचत

बीमाको अर्को महत्वपूर्ण फाईदा भनेको दिर्घकालिन बचत पनि हो । बीमाको अवधिमा तपाईले तिर्नू भएको बीमा शुल्क तपाईको दिर्घकालिन बचतका रुपमा रहने गर्छ । जुन भविष्यमा आवश्यक परेको खण्डमा प्रयोग गर्न सजिलो हुन्छ । भने तपाईलाई ऋणको जोखिमबाट पनि मुक्त हुनुहुनेछ ।

जीवनमा आईपर्ने आवश्यकताको परिपुर्ति

जीवनमा कुन समयका कस्तो आवश्यकता आई पर्छ, भन्न सकिदैन् । त्यसकारण पनि यस्ता आवश्यकता परिपुर्ति गर्नको लागि बीमा सहयोेगी बन्न जान्छ । बीमा कम्पनीले तपाईको कुल बीमा शुल्कको ९० प्रतिशत रकम ऋण स्वरुप उपलब्ध पनि गराउने गर्छन् । जसका लागि कुनै अचल सम्पती धितो राख्नु पनि पर्दैन् । बीमालेख धितो राखेमा यस्तो ऋण उपलब्ध हुन्छ ।

बीमा गराउनुको मुख्य उदेश्य र विषम परिस्थितिको आवश्यकता हेरेर मात्रै बीमा पोलीसीको छनौट गर्नु पर्छ । बीमा शुल्क समयमै भुक्तान गर्ने गर्नु पर्छ, र भुक्तान गरेको रसिद सुरक्षित राख्ने गर्नु पर्छ ।

यदि तपाईले बीमा गर्नुभएको छ, वा बीमा गर्ने सोचमा हुनुहुन्छ भने तपाईलाई बीमाका केही प्राविधीक शब्द बुझाईमा कठिनाई भइरहेको हुन सक्छ । अथवा तपाई भविष्यमा बीमा क्षेत्रमा प्रवेश गर्नेबारे सोच्दै हुनुहुन्छ भने तपाईले बीमा क्षेत्रमा प्रयोग हुने सामान्य प्राविधीक शब्दबारे जान्नै पर्ने हुन्छ । बीमा क्षेत्रमा प्रयोग हुने यस्तै केही प्राविधीक शब्दावली हामीले यहाँ प्रस्तुत गरेका छौ ।

बीमक 

बीमा क्षेत्रमा अत्याधिक प्रयोग हुने शब्दमा बीमक पनि एक हो । बीमक शब्दले बीमा गर्ने कम्पनीलाई बुझाउँदछ ।

बीमित

कुनै पनि प्रकारको बीमा योजना खरिद गर्ने व्यक्ति वा संस्थालाई विमित भनिन्छ ।

बीमालेख

बीमा क्षेत्रमा सबैभन्दा धेरै प्रयोग गरिने शब्द हो बीमालेख । बीमालेख भनेको बीमा गर्ने पक्ष बीमीत र बीमा गराउने पक्ष बीमक बीच भएको सम्झौता पत्र हो । अर्थात् बिमा योजना हो ।

बीमांकी

बीमामा बिमांकीको सबैभन्दा महत्वपूर्ण भूमिका रहन्छ । बिमा गरिने कुनै पनि कुराको दायित्व निर्धारण तथा गणना गर्नको लागि बीमा कम्पनीद्धारा खटाईएको वा नियुक्त गरिएको व्यक्तिलाई बीमाकीं भनिन्छ ।

बीमा अभिकर्ता

बिमा कम्पनी र विमित बिच सहजीकरण गर्ने व्यक्ति नै बिमा अभिकर्ता हो । अभिकर्ता बन्नको लागि बिमा समितिबाट इजाजत लिनु पर्छ ।

सर्भेयर :

सर्भेयर भनेको बीमा गरिएको वस्तुको मुल्याङ्कन गर्न कानूनी रुपमा इजाजत–पत्र प्राप्त व्यक्ति वा संस्था हो । कुनै पनि बस्तुको विमा गर्नुपूर्व वा क्षतिग्रस्त भै सकेपछि त्यसको बास्तविक मूल्य पत्ता लगाउने काम सर्भेयरले गर्छ ।

जोखिम

आर्थिक नोक्सानी हुन सक्ने अनिश्चित परिस्थिति नै जोखिम हो ।

दुर्घटना

वाहिरी, आंखाले स्पष्ट देख्न सकिने र सांघातिक तवरबाट हुने आकस्मिक वा अप्रत्यासति घटनालाई बिमा क्षेत्रमा दुर्घटना भन्ने गरिन्छ ।

स्थायी पूर्ण अशक्तता

बीमितले आफ्नो जीवन निर्वाहका लागि आय वा मुनाफा आर्जन गर्ने कुनै पनि ब्यवसाय वा पेशा गर्न सधैको लागि असमर्थ भएको अवस्था हो । नेपालको बीमा ऐन अनुसार दुर्घटना भएको मितिदेखि ३६५ दिनसम्म बीमित स्थायी पूर्ण अशक्त रहेमा उसलाई सदाको लागि  स्थायी पूर्ण अशक्त मानिन्छ ।

अस्थायी पूर्ण अशक्तता

भन्नाले बीमित व्यक्ति आय वा मुनाफा आर्जन गर्ने कुनै पनि ब्यवसाय वा पेशा गर्ने शारिरीक रुपमा केहि समयको लागि पूर्ण रुपले असमर्थ भएको अवस्था हो ।

जोखिम समूह

हुलदंगा, हडताल, नागरिक उपद्रव, द्वेषपूर्ण कार्य, आतंकवाद तथा विध्वंशात्मक कार्य जस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटनालाई जोखिम समूह भनिन्छ ।

दलाल

बीमा व्यवसाय सम्बन्धमा बीमक–बीमक, तथा पुनर्बीमक–बीमकको बिचमा माध्यम वा मध्यस्तकर्ताको रुपमा काम गर्ने इजाजत–पत्र प्राप्त व्यक्ति वा संस्था हो ।


प्रतिक्रिया दिनुहोस्