मुलुकमा राजसंस्था हुनैपर्छ: रविन्द्र मिश्र

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ४ : ५७


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन्।

राष्ट्रपतिजस्तो संस्थाले समेत इमानदारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उनले बताए।

बुधबार काठमाडौंमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुव्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठनुपर्ने राष्ट्रपति संस्था इमानदार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्ति जनाए।

उनले मुलुकले संघीयता धान्नै नसक्ने जिकिर गरे। राजनीतिक, आर्थिक, भौगोलिक कुनै पनि रूपमा मुलुकले संघीयता धान्नै नसक्ने मिश्रको तर्क थियो।

वरिष्ठ उपाध्यक्ष मिश्रले धर्मको नाममा, जातको नाममा राजनीति हुन थालेपछि मुलुक झनै कमजोर हुँदै गएको दाबी गरे।

वरिष्ठ उपाध्यक्ष मिश्रले आफूमा भन्दा बढी नेपाली कांग्रेसमा विचलन आएको आरोपसमेत लगाए।


प्रतिक्रिया दिनुहोस्