रुस भन्छः अब युक्रेनका यी चार भूभाग हाम्रो, हामीले जित्यौं जनमतसंग्रह!

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १२ : २०


काठमाडौं। रुसी नियन्त्रणमा रहेका युक्रेनी क्षेत्रमा कथित चारवटा जनमतसङ्ग्रह समापन भएको रुसले बताएको छ।

बीबीसीका अनुसार त्यहाँ भएको मतदानलाई मस्कोले थप क्षेत्रलाई आफूमा गाभ्ने आधारका रूपमा प्रयोग गर्न सक्छ। ती क्षेत्रमा मस्कोद्वारा स्थापित अधिकारीहरूले रुसमा सामेल हुने विवादित मतदानमा भाग लिनेमध्ये लगभग सबैले पूर्ण समर्थन गरेको दाबी गरिरहेका छन्।

तर युक्रेन सरकार र उसका सहयोगीहरूले उक्त चुनावलाई अवैधानिक र अस्वीकार्य भएको बताएका छन्।

अन्तर्राष्ट्रिय मान्यताको अभावमा निर्वाचन प्रक्रियालाई स्वतन्त्र रूपमा अनुगमन गरिएको थिएन। त्यसमाथि युक्रेनको भूभागमा आक्रमण गरेर त्यहाँ जनमतसंग्रह गर्नु त्यो अन्तर्राष्ट्रिय मान्यता विपरित भएको बताइएको छ।

स्वघोषित तर अन्तर्राष्ट्रिय मान्यता नपाएका युक्रेनबाट टुक्रिएका डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरूमा उक्त मतदान भएको थियो।

जापोरीजा र खेअर्सनको दक्षिणी क्षेत्रका रुसी कब्जामा रहेका भागहरूमा पनि मतदान गराइएको थियो। रुसभरि छरिएर रहेका शरणार्थीहरूले पनि दर्जनौँ मतदान केन्द्रमा मतदान गर्न पाएका थिए।

त्यस्ता मतदान केन्द्रहरू सन् २०१४ मा रुसले कब्जा गरेको दक्षिणी युक्रेनी प्रायद्वीप क्राइमियामा पनि रहेका थिए। त्यहाँको मतदानको आंशिक परिणामले रुसमा सामेल हुने पक्षमा व्यापक बहुमत देखाएको रुसी समाचार संस्था तासले जनाएको छ।

युक्रेनको लगभग १५ प्रतिशत भूभाग समेट्ने युद्धग्रस्त क्षेत्रका ४० लाख मानिसलाई मतदान गर्न भनिएको थियो।

डोनेट्स्क र लुहान्स्कमा क्रेमलिन समर्थक प्रशासनद्वारा सञ्चालित समाचार एजेन्सीहरूले ९९.२३ प्रतिशत मानिसले रुसमा सामेल हुने पक्षमा मतदान गरेको समाचार संप्रेषण गरिरहेका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्