अमेरिका भन्छः भारत र पाकिस्तान दुवै हाम्रा मित्र

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  २ : ४२


काठमाडौं। अमेरिकाले भारत र पाकिस्तान दुवै आफ्नो मित्र भएको बताएको छ।

सोमबार अमेरिकी विदेश मन्त्रालयले भारत र पाकिस्तान असल साझेदार भएको र दुवैको आ–आफ्नै महत्व भएको बताएको हो।

अमेरिकी एफ–१६ लडाकु विमानसँग सम्बन्धित एक सम्झौतामा अमेरिका र पाकिस्तानबीच सम्झौता भएपछि भारतले यो विषयमा प्रश्न गरिरहेको छ।

यस्तो अवस्थामा अमेरिकाले प्रस्ट रुपमा भारत र पाकिस्तान नै आफ्नो मित्र भएको बताएको हो।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भनेका छन्,‘भारत र पाकिस्तानसँग हाम्रो सम्बन्ध अलग–अलग छ। हामी एक देशलाई अर्को देशको सम्बन्धसँग जोडेर हेर्दैनौं। दुवै हाम्रा मित्र हुन् र उनीहरुको आफ्नै महत्व छ।’

हालै अमेरिकाले पाकिस्तानलाई लडाकु विमान मर्मतसम्भारको लागि ४५ करोड अमेरिकी डलर सहयोग गर्ने बताएको थियो।

यसैबीच अमेरिकाले पाकिस्तानलाई एक करोड अमेरिकी डलर बराबरको सहयोग पनि गर्ने भएको छ।

पाकिस्तानमा बाढीले ठूलो क्षति गरेपछि अमेरिकी सरकारले सहयोग गर्ने निर्णय गरेको हो।

यी पछिल्ला परिदृश्यले अमेरिका र भारतबीचको सम्बन्ध बिग्रिएको छ कि भनेर अनुमान गर्न थालिएको छ।

युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिकाले रुसबाट कसैले तेल तथा इन्धन खरिद गर्न नहुने बताएको थियो। भारतले भने सस्तोमा रुसबाट इन्धन खरिद गरिरहेको छ।

यस्तोमा अमेरिका भारतबाट चिढिएर पाकिस्तानसँग नजिक भइरहेको अनुमान गरिएको छ। भारत र पाकिस्तानबीच दशकौं लामो सीमा विवाद छ। कस्मिरको विषयमा यी दुई देशका सेनाबीच गोलाबारी चलिरहन्छ।

यस्तोमा पाकिस्तानको लडाकु विमान अमेरिकाले मर्मतसम्भार गर्ने भएपछि भारत स्वभाविक रुपमा अमेरिकासँग खुशी छैन।


प्रतिक्रिया दिनुहोस्