काठमाडौं। अमेरिकी अन्तरिक्ष संस्था नासाको डार्ट अन्तरिक्ष यान डिमोरफोस क्षुद्रग्रहसँग सफल रुपमा ठोक्किएको छ।
प्लानेटरी डिफेन्स टेस्ट अभियान अर्थात् पृथ्वीलाई क्षुद्रग्रहको खतराबाट जोगाउने योजना अन्तर्गत यो परीक्षण गरिएको सीएनएनले जनाएको छ।
हाल डार्ट अन्तरिक्ष यान ठोक्किएको क्षुद्रग्रह पृथ्वीमा खसेको खण्डमा यसले यहाँको जमिनमा एक किलोमिटर ओगटेर १०० मिटरको खोल्डो बनाउने क्षमता राख्छ।
फुटबल मैदान जत्रै यो क्षुद्रग्रहसँग अन्तरिक्ष यान जानाजान ठोक्काइएको हो। अन्तरिक्ष यान क्षुद्रग्रहमा ठोक्काइँदा त्यसको बेग कम गर्न सकिने र त्यसको मार्ग थोरै भएता पनि परिवर्तन गर्न सकिने वैज्ञानिकहरुको भनाइ छ।
यो अभियानले पृथ्वीमा क्षुद्रग्रहले पार्ने जोखिम कम गर्न सकिने बताइएको छ। नासाको यानले क्षुद्रग्रहलाई कस्तो प्रभाव पर्यो भनेर केहीदिनमा नतिजा आउने छ। पृथ्वीबाट दर्जनौं टेलिस्कोपले यतिबेला सो क्षुद्रग्रहको निगरानी गरिएको छ।
पृथ्वीबाट ६८ लाख माइल टाढाको यस क्षुद्रग्रहसँग ठोक्किन नासाको यान प्रतिघण्टा १५ हजार माइलको रफ्तारमा त्यहाँसम्म पुगेको थियो।
रकेट क्षुद्रग्रहमा ठोक्काउने यो अभियान सफल भएसँगै नासा र जोन्स हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरु खुशी भएका छन्।
भिडिओ