मनास्लुमा हिमपहिरो जाँदा १२ जना घाइते, ३ को अवस्था गम्भीर

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ३ : ३७


गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र ६ जना सामान्य घाइते भएको लुइँटेलले जानकारी दिए। मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि उनले बताए।

हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौंबाट तीनवटा हेलिकोप्टर पठाइएको छ। यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ।

मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि गएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिए। गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उनले बताए।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरूका सहयोगी नेपाली आधार शिविरमा छन्। सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन्।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन्। यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुलि आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन्। रासस


प्रतिक्रिया दिनुहोस्